३१ जेष्ठ २०८१, बिहीबार

आफ्नो संकट टार्न संसद अवरोधको गाँठो फुकाउने कसरतमा नेकपा एस

एसीपी संवाददाता

११ जेष्ठ २०८१, शुक्रबार ०९:५८ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको बिहीबारको ८२औँ सचिवालय बैठकले निर्णय गर्‍यो, संसद अवरोधको गाँठो फुकाउन पहल गर्ने ।  एसको सचिवालय बैठकले संसद अवरोध खुलाउन उच्चस्तरीय भेटघाट र छलफलको तयारीसमेत गरेको छ ।

बैठकको निर्णयानुसार नेकपा एसले सहकारीहरूको बचत हिनामिना, दुरुपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेको प्रमुख प्रतिपक्षी दल कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने भएको छ । त्यसमा सत्ता गठबन्धनको प्रमुख घटक एमाले र त्यसका अध्यक्ष केपी ओलीसँग भने उसले छलफल गर्ने भनेको छैन ।

एसको यो निर्णयलाई भने राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । संसदीय छानबिन समिति बनाउने दलहरूबीच सहमति भएको छ । समितिको कार्यादेश टुंगो लगाउन कार्यदल गठन भएको छ र निरन्तर छलफल भइरहेको छ । यद्यपि, त्यसले सहमति जुटाउन सकेको छैन । उक्त कार्यदलमा एस र माओवादी केन्द्रका प्रतिनिधि छैनन् । त्यसैले एसको अहिलेको निर्णयलाई रोचक ढंगले हेरिएको छ ।

हुन त, पछिल्ला दिनमा सत्ता गठबन्धनभित्र एसको भूमिका प्रभावकारी देखिएको छैन । सरकारमा बस्ने तर सरकारकै आलोचना गर्ने दोहोरो रणनीति अपनाएका कारण सत्ता गठबन्धनभित्र उसको स्पेस खुम्चिँदै गएको छ । त्यही बुझेर अहिले सत्ता गठबन्धनभित्र आफ्नो स्पेस बढाउने रणनीतिसँग जोडेर पनि बिहीबारको निर्णयलाई हेरिएको छ । तर, त्योभन्दा पनि एस अहिले संसद निरन्तर चलोस् भन्ने पक्षमा छ ।

एस त्यस्तो मनस्थितिमा हुनुको प्रमुख कारण भनेको अध्यादेशको आशंका हो । कांग्रेसले निरन्तर संसद अवरोध गर्दा सत्तापक्ष अधिवेशन अन्त्यको बाटोमा जाने र बजेटसहित अध्यादेश आउन सक्ने डर एसमा छ । एसलाई बजेट अध्यादेशबाट बजेट आउने डरभन्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेश आइदेला भन्ने डर छ । स्रोतका अनुसार एसभित्र पार्टी विभाजनका लागि केही सांसद सक्रिय छन् । उनीहरू प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर संवादमा छन् ।

स्रोतको दाबीमा सबैभन्दा बढी अहिले सक्रिय प्रेम आले छन् । आले अहिले एसका ६ जना सांसदसँग निरन्तर संवादमा छन् । यद्यपि, उनीहरूले आलेलाई पूर्ण रूपमा विश्वास भने गरिरहेका छैनन् । तर पनि दल विभाजनका लागि सहज बनाइदिने वा राष्ट्रिय पार्टी नभएका दलका सांसदले अन्य दल रोज्न पाउने गरी अध्यादेश ल्याइदिन असन्तुष्ट पक्षको लविङ रहेको एस स्रोतको दाबी छ ।

त्यसका लागि आलेहरूले एमाले अध्यक्ष ओलीलाई भेटेर छिटो गरिदिन भनिरहेको पनि एमाले स्रोतको दाबी छ । उक्त स्रोतको दाबीमा आलेले उक्त जानकारी अध्यक्ष नेपाललाई पनि गराइसकेका छन् । त्यसैले आले यसअघिका पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा सहभागी नभएको पनि एस स्रोतको दाबी छ । सांसदहरू पार्टी विभाजनको अन्तिम चरणमा रहेका कारण अध्यक्ष नेपाल पार्टी बचाउने उपायको खोजीमा रहेको उनीनिकट नेताहरू बताउँछन् । नेपालनिकट नेताको भनाइमा अध्यक्ष नेपालले प्रचण्डलाई भेटेर गुनासो पनि गरिसकेका छन् ।

स्रोतको दाबीमा अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् र आलेलाई सम्झाइदिन आग्रह गरेका छन् । कांग्रेसको आन्दोलन मत्थर भई संसद चालु भए सरकारका लागि अध्यादेशको बाटो बन्द हुने भएकाले एस संसद चलाउने पक्षमा उभिएको विश्लेषण भइरहेको छ ।  शिलापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x