१२ मंसिर २०८३, शुक्रबार

संघीयता कार्यान्वयन हुन सकेनः मन्त्री अहिर

एसीपी संवाददाता

१९ जेष्ठ २०८१, शनिबार ०९:१८ मा प्रकाशित

नेपालगञ्ज । लुम्बिनी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपालमा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् । आज रेडियो बागेश्वरी ९४ दशमलव ६ मेगाहर्जले आयोजना गरेको लुम्बिनी प्रदेश सरकारको आगामी बजेटमा नागरिकको अपेक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अहिरले ठूला पार्टीका शीर्ष नेताहरुले नै नेपालमा संघीयता कार्यान्वयन गर्न नदिएको आरोप लगाए ।

संघले प्रदेशको अधिकार हस्तान्तरण नगर्दा संघीयता कागजमा मात्रै सीमित बन्न पुगेको भन्दै उनले प्रदेशले चाहेर पनि राम्रोसँग काम गर्न नसकेको बताए । प्रदेश र संघीय सरकारले समेत नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिए पनि बजेट भने शून्य दशमलव ४ प्रतिशतको हाराहारीमा मात्रै विनियोजन गर्ने गरेकाले कृषि क्षेत्र उकासिन नसकेको उनको भनाई थियो । मन्त्री अहिरले बाँकेको समग्र क्षेत्रको विकासको लागि आफूले लडेर भए पनि कार्यक्रम र योजना ल्याउने बताउँदै रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिवद्वता जनाए ।

कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाहले खेल क्षेत्रमा संघीयता लागू नै नभएको बताए । बाँकेको खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले कुनै पनि किसिमको सहयोग समेत नगरेको उनको गुनासो थियो । महिला अधिकारकर्मी शाहिदा शाहले सरकारले योजना बनाउँदा र बजेट निर्माण गर्दा महिला सहभागिता नगराउने गरेको गुनासो गरेकी थिइन् ।

कार्यक्रममा जानकी गाउँपालिका–३ स्थित श्री मावी वनजारे गाउँका शिक्षक रामधीरज यादव, पत्रकार कुलेन्द्र विश्वकर्मा, युवाको तर्फबाट नितेश कुमार विश्वकर्मा लगायतले आ–आफ्नो क्षेत्रको समस्या र सरकारसँगको अपेक्षाको बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रेडियो बागेश्वरीका सञ्चालन समितिका अध्यक्ष भोजराज पाण्डेको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x