ओलीलाई बालेनको चेतावनी: १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला
काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी लिएका छन्।
न्यूरोडमा फुटपाथ विस्तारमा संघ सरकारले हस्तक्षेप गरेपछि मेयर शाह आक्रोशित मात्र भएका छैनन्, ओलीले १० हजार करोडको काण्ड लकाउन अर्काे काण्ड गरेर जनता झुक्याउन खोजेको बताएका हुन्।
‘झापा गिरिबन्धु टी इस्टेटमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ।’
महानगरले न्यूरोडमा फुटपाथ फराकिलो बनाउन थालेपछि सडक विभागले हस्तक्षेप गरेको छ। सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको निकाय हो। एमाले नेता रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री छन्, उनी ओलीको चाहनामा चल्ने नेता हुन्।
बालेनले अगाडि लेखेका छन्,‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो ।
तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।


