रास्वपाका महामन्त्रीले मुकुल ढकालले मुद्दा हारे, ढाकाकुमारले मुद्दा जिते
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले रास्वपाको कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठसम्बन्धी मुद्दामा फैसला सुनाएको छ ।
रास्वपाको तर्फबाट महामन्त्री मुकुल ढकालले जनआस्था पत्रिकासहित पाँच जनाविरुद्ध अदालतमा २०८० जेठ १४ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा न्यायाधीश पदमराज पाण्डेयको इजलासले अन्तिम फैसला सुनाउँदै दाबी नपुग्ने फैसला सुनाएको हो ।
‘…सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार छापिएकोमा मेरो गम्भीर गाली बेइज्जती हुँदै क्षति भएको छ’ उनको मुद्दामा भनिएको थियो ‘यसले म र हाम्रो पार्टीको मान, प्रतिष्ठा र इज्जतलाई धमिल्याउनको लागि पत्रिकामार्फत सार्वजनिक गरिएको षड्यन्त्र गरेकाले त्यसको क्षतिपूर्ति पाउनुपर्ने देखिन्छ ।’
उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गरेका थिए । अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने घोषणा पनि उनले गरेका थिए ।


