सरकारले अन्तर्राष्ट्रिय कूटनीतिको मर्यादाविपरीत राजदूत फिर्ता बोलायो : उपेन्द्र यादव
काठमाडौं। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले अन्तर्राट्रिय कूटनीतिको मर्यादाविपरीत राजदूत फिर्ता बोलाएको बताएका छन्।
पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिन शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘आइतबार प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ। ‘तर जानुभन्दा एक दिन अगाडि त्यहाँको राजदूतलाई फिर्ता बोलाइयो । यो अन्तर्राष्ट्रिय कूटनीतिकविपरीतको कार्य हो ।’
संघीय सरकारले ल्याएको बजेट मधेश विरोधी रहेको उनले बताए। ‘मानव विकास सूचकांक, शिक्षा, स्वास्थ्यमा कमजोर रहेको तथा उच्च जनसंख्या रहेको मधेश प्रदेशमा सरकारले सबभन्दा कम बजेट विनियोजन गरेको छ । यसले शासक वर्ग मधेशप्रति कति पुर्वाग्राही छ भन्ने प्रस्ट हुन्छ,’उनले भने।
जनकपुरधाममा यही जेठ २८ देखि ३० सम्म आयोजना हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए।


