१२ मंसिर २०८३, शुक्रबार

भारतीय व्यावसायीलाई नेपालमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री‘प्रचण्ड’को आग्रह

एसीपी संवाददाता

२८ जेष्ठ २०८१, सोमबार २०:५५ मा प्रकाशित

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बसेको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूले छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्रीले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए ।

‘लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुनहरू अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रमा संरचनागत एवं संस्थागत सुधार भएको छ । लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ, ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु’प्रधानमन्त्री प्रचण्डले भने ।  उपभोक्ता दृष्टिकोणले पनि नेपाल लगानीका लागि उपयुक्त थलो भएको प्रधानमन्त्रीको भनाइ रहेको छ ।

भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री प्रचण्डले ठुला जलविद्युत आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी गराए ।

सो अवसरमा फिक्कीका अध्यक्ष डा। अनिस शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जामा आफू र आफ्ना सदस्यहरू इच्छुक रहेको बताए । नेपालटप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x