७ कार्तिक २०८१, बुधबार

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

एसीपी संवाददाता

३१ जेष्ठ २०८१, बिहीबार ०९:४२ मा प्रकाशित

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो औपचारिक भ्रमण नेपालमा होस् भन्ने नेपालको अपेक्षा रहेको दोहोर्‍याएका छन् । बुधबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई बधाई दिन टेलिफोनमा कुराकानी गर्ने क्रममा उनले छिमेकी मुलुकलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

करिब १५ मिनेट लामो टेलिफोन संवादमा उपप्रधानमन्त्री श्रेष्ठले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्लीमा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको स्मरण गराएका थिए । उनले विदेशमन्त्री जयशंकरलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार दिल्लीमा सीमित पत्रकारहरूसँगको छलफलमा मोदीलाई भ्रमणको निम्ता दिएको र उनले सकारात्मक जवाफ दिएको बताएका थिए । मोदी बिहीबार जी ७ का मुलुकहरूको बैठकमा सहभागी हुन इटालीको रोम भ्रमणमा जाँदै छन् ।

‘उपप्रधानमन्त्रीले प्रधानमन्त्री मोदीको पहिलो औपचारिक भ्रमण नेपाल होस् भन्ने नेपालको चाहना प्रधानमन्त्रीबाटै व्यक्त भएको, प्रधानमन्त्रीले निमन्त्रणा दिएको र भारतीय प्रधानमन्त्रीले स्वीकार गरिसक्नुभएको विषय स्मरण गराउनुभएको छ,’ उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले भने ।

भारतीय विदेशमन्त्री जयशंकरले मोदीको नेपाल भ्रमणका लागि नेपालको प्रस्तावबारे ‘नियमित सम्पर्कमा बसेर छलफल गरौँ,’ भनेका थिए । ‘तपाईं र हामी निकट सम्पर्कमा रहेर काम गरौँ । भ्रमणलगायतका विषयमा छलफल गरेर उपयुक्त समय तय गरौँ,’ जयशंकरको जवाफ थियो । नयाँपत्रीका बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x