राजनीति पैसा कमाउनका लागि हो भन्ने सोचले देश बर्बाद भयो : शेखर कोइराला
विराटनगर । कांग्रेस नेता डा.शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै गएको धारणा व्यक्त गरेका छन् । नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उनले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।
उनले भने, “राजनीति पैसा कमाउनका लागि मात्रै गर्ने हो भन्ने कतिपयको सोचले विकृति बढेको छ, यसलाई निर्मुल पार्नुपर्छ ।” आफ्नो पार्टीका नेता तथा कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि त्यसलाई जोगाउनेतर्फ दलहरू लाग्ने गरेको उनको भनाइ थियो ।
नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने बताए । उनले मुस्लिम समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले उनीहरूको शिक्षा र आर्थिक विकासका लागि राज्य गम्भीर हुनु आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डीला सङ्ग्रौला र मुस्लिम सङ्घका संस्थापक अध्यक्ष तथा नेका केन्द्रीय सदस्य अब्दुल सतारले राजनीतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ कांग्रेसले ध्यान दिनुपर्नेमा जोड दिए ।


