१२ मंसिर २०८३, शुक्रबार

गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुले: अध्यक्ष यादव

एसीपी संवाददाता

१२ असार २०८१, मंगलवार ०९:१४ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रपछि मुलुक विकास र प्रगतिको बाटोमा क्रमशः अगाडि बढिरहेको बताएका छन्।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकन पश्चात् उनले गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका बताएका हुन्।

अध्यक्ष यादवले गणतन्त्रपछि केही भएन भन्ने गरिएकामा त्यसलाई चिर्न तस्बिर प्रदर्शनी सफल भएको र सबैले यस्ता रचनात्मक काममार्फत जवाफ दिन जरुरी रहेको बताए।

‘गणतन्त्रपछि विकास र पूर्वाधारका क्षेत्रमा धेरै उपलब्धि भएका छन् तर जनताको उच्च अपेक्षा र सीमित स्रोतसाधनबिच तालमेल नहुँदा केही प्रश्न भने उठेका छन्। क्रमशः देश विकास गरेर ती प्रश्न पनि सम्बोधन गर्दै जानुपर्छ’, उनले भने।

अध्यक्ष यादवले गणतन्त्रपछि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै प्रगति र विकास हुनुका साथै मानवीय र सञ्चारका क्षेत्रमा पनि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

उनले भने, ‘गणतन्त्रपछि नेपालले यातायात, सञ्चार तथा सूचना प्रविधि, सिँचाइ, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलगायत हरेक क्षेत्रमा महत्त्वपूर्ण काम गरेको छ। कृषि र उद्योग क्षेत्रमा भने अपेक्षाकृत परिवर्तन हुन नसकेका कारणले रोजगारी सिर्जनामा पछि परेको अवस्था छ। अब त्यस बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

विगतमा सातदेखि १५ दिनसम्म हिँडेर पुग्ने ठाउँमा अहिले गाडीबाट छोटो समयमै पुग्न सम्भव भएको उदाहरण दिँदै उहाँले सञ्चार र यातायातको सम्पर्क सञ्जाल विस्तार भएसँगै मानिसको पहुँच वृद्धि र जीवनस्तरमा सुधार भएको बताए।

जसपा अध्यक्ष यादवलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालगायतले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराएका थिए।नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x