५ श्रावण २०८३, मंगलवार

अल्पमतमा परिसक्दा पनि कुर्सीका लागि किन तिगडम गर्दैछन् प्रचण्ड?

एसीपी संवाददाता

२५ असार २०८१, सोमबार २०:४१ मा प्रकाशित

काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको एक साता भइसक्यो। कांग्रेस र एमालेबीच १७ असारमा नयाँ गठबन्धन गरेर जाने सहमति भएपछि एमाले सरकारबाट बाहिरिसकेको छ।

प्रचण्ड सरकारले बहुमत गुमाइसकेको छ। कांग्रेस र एमाले मिल्दा २७५ सदस्य रहेको प्रतिनिधिसभामा १६७ सिट पुग्छ। जुन सरकार गठनका लागि पर्याप्त हो।

तर, प्रचण्ड भने विश्वास गुमाइसक्दा पनि संसद फेस गर्ने बताइरहेका छन्। हुन् त उनले संसद फेस गर्ने भन्दा पनि संसदमा भाषण गरेर राजीनामा घोषणा गर्नसक्ने सम्भावना छ।

माओवादी सांसद लेखनाथ दाहालले भने प्रचण्डले विश्वासको मत पाउने सम्भावना रहेको दाबी गरे। प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले प्रचण्डले विश्वासको लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गरेका हुन्।

‘मलाई विश्वास छ २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ, र प्रधानमन्त्रीकै निरन्तरतामा अगाडी बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ,’ उनले भने, ‘सत्तापक्ष होस् चाहे प्रतिपक्ष होस्। जुनसुकै भूमिकामा रहेर पनि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर माओवादी निरन्तर अगाडी बढ्छ।’

दाहालले यसरी दाबी गरे पनि कांग्रेस र एमालेले सहमति कार्यान्वयनमा दृढता व्यक्त गरेका छन्।

कांग्रेसले संसदीय दलको बैठकबाट नै निर्णय गरेर प्रचण्डलाई विश्वासको मत नदिने र कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सहमति कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। यी दुई नेताबीच आलोपालो सरकार चलाउने सहमति भएको छ। जसअनुसार पहिलो चरणमा ओली र दोस्रो चरणमा देउवा प्रधानमन्त्री बन्नेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x