कांग्रेस-एमाले गठबन्धनको सरकार बनेपछि चम्कियो सेयर बजारः लगातार उकालो, रेकर्डब्रेक कारोबार
काठमाडौं। लगातार विरियसमा रहेको नेपाली सेयर बजार कांग्रेस, एमाले गठबन्धनको सरकार बनेपछि लगातार चम्किरहेको छ। १७ असारमा कांग्रेस र एमालेबीच गठबन्धनको सहमति भएसँगै उकालो लागिरहेको बजार सरकार बनेयता लगातार चम्किरहेको छ।
संसदका दुई ठूला दल मिल्दा मुलुकमा स्थायित्व कायम हुने र व्यवसायिक वातावरण पनि बन्ने भएपछि बजारमा एतिहासिक कारोबारसमेत भएको छ।
बुधबार नेप्से परिसूचक ६४.२५ अंकले २ हजार ७६०.९१ विन्दुमा कायम भएको छ। बुधबार सेयरबजारमा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको कारोबार भएको छ। यो कारोबार अहिलेसम्मकै धेरै हो । ०७८ साउन ३१ गते २१ अर्ब ६४ करोडको कारोबार भएको थियो। आज भने यो रेकर्ड टुटेको हो।
बुधबार ३३२ कम्पनीका ५ करोड ९ लाख कित्ता सेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री भएका छन्। १९१ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ८ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ।


