२ श्रावण २०८३, शनिबार

विपक्षीलाई परराष्ट्रमन्त्री डा देउवाको प्रस्ट सन्देशः सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो

एसीपी संवाददाता

१७ श्रावण २०८१, बिहीबार १०:४० मा प्रकाशित

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभई काम गर्न आएको बताएकी छन्।

बुधबार राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि डा देउवाले वर्तमान सरकारले आफ्नो प्रचारबाजी नगर्ने र  काम गर्ने बताइन्।  ‘यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो,’ उनको भनाइ छ।

कांग्रेस र  एमाले यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका र दुवै दलका नेताले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वका बारेमा प्रश्न नगर्न पनि उनको आग्रह थियो ।

‘कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीजीले धेरै कुरा बिचार गरेर मुलुकलाई निकास दिने उद्देश्यका साथ यो सरकार निर्माणका लागि लाग्नुभएको हो, त्यसैले यो सरकारले देशका लागि केही गरेर देखाउनेछ,’ डा. देउवाले भनिन्।

परराष्ट्रमन्त्री देउवाले नयाँ बनेको सत्ता कमीकरण कुनै एक व्यक्तिका कारणले नभएर मुलुकका दुई ठूला दलले आवश्यकताको बोध गरेर निर्माण भएको स्पष्ट गरिन्। मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा स्पष्ट गरेको स्मरण गर्दै मन्त्री डा देउवाले सरकार ढल्छ भन्ने या अरु कुनै पनि कारणले काममा ढिलासुस्ती गर्ने तथा नागरिकलाई डेलिभरी दिने काममा ढिला गर्ने छुट सरकार र कर्मचारी कसैलाई  नभएको पनि स्पष्ट गरिन्।

उनले कहीँ कतै प्रमाण या उजुरी नहुँदा नहुँदै पनि आफ्नो नाममा विभिन्न काण्ड खडा गरेर जोड्ने गरिएकामा आपत्ति जनाइन्। ‘कतै तथ्य छैन, कुनै गल्ती गरेको अवस्था छैन तर पनि कतिले सोसियल मिडिया त कतिले मिडियाबाट नै मेरो नाम मुछ्ने गरेका छन्, प्रजातन्त्र छ भन्दैमा यस्तो पनि गर्न मिल्दो रहेछ,’ उनले भनिन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x