श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी झलक
बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ त्रिभुवन चौक मा प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीकाे दिन मधेशी समुदायले ‘गुडिया’ पर्व र थारु समुदायले ‘ गुरही वा गुरिया ‘ पर्व भनेर मनाउने गरेका छन् । लत्ताकपडाको गुड्डिन ( गुडिया ) बनाएर गाउँघरका केटीहरुले चोकमा लगेर फाल्छन् भने केटाहरुले त्यसलाई लठ्ठीले पिट्ने गर्दछन् ।
यो पर्व अवधी समुदायको मुख्य पर्वको रूपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल छिमेक सबै मिलेर विशेष धुमधामका साथ सो पर्व मनाउदछन् ।
गाउँ टोलका विशेष गरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ ।
यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ ।
यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ ।
घुघरीमा चना, चामल, भेली मिठाइँ र आवश्यक कपडा लत्तासहितको गठरी सामर्थअनुसार भाइ वा बाबुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिनुभयो ।


