कमजोर शान्ति सुरक्षाका कारण बंगलादेशमा हिन्दू समुदायमाथि आक्रमण बढ्यो
बंगलादेश हिन्दू, बौद्ध, क्रिस्चियन, युनिटी काउन्सिल’का अनुसार यो हप्ताको सुरुमा कम्तीमा १० वटा हिन्दू मन्दिरमा आक्रमण
बंगलादेशमा शेख हसिना सत्ताच्युत भएपछि देखिएको कमजोर सुरक्षा स्थितिमा बंगलादेशी हिन्दूमाथिको आक्रमण बढेको छ । यसबाट बच्न सयौँ भारत र बंगलादेशको सीमामा भेला भएको भारतीय सुरक्षा अधिकारीले मिडियालाई जानकारी गराएका छन्। हसिनाको निष्कासनपछि मुस्लिमबहुल बंगलादेशका केही भागमा हिन्दूको व्यवसाय र घरहरूमाथि आक्रमण बढेको छ । विशेषतः हिन्दूहरू हसिनाको मूल मतआधार भएको आरोपमा उनीहरू निसाना बनेका छन् ।
‘सयौँ बंगलादेशी नागरिक प्रायः हिन्दूहरू, बंगलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,’ भारतको सीमा सुरक्षा बल (बिएसएफ) का उप–महानिरीक्षक अमितकुमार त्यागीले बताए । पश्चिम बंगाल राज्यको भारतीय सीमाक्षेत्रको अन्तिम विन्दुमा २०० जना र पश्चिम बंगाल राज्यको जलपाइगुडी जिल्लामा ६०० भन्दा बढी बंगलादेशी नागरिक भेला भएका त्यागीले जानकारी दिए । ‘दुई देशबीचको सीमामा कुनै पर्खाल नभएका कारण बिएसएफका जवानले भिडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सीमाक्षेत्रबाट भिड पन्छाउन हवाई फायर भएको थियो,’ त्यागीले भने ।
सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिना एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिन बाध्य भइन् । त्यसपछि बंगलादेशको सुरक्षा स्थिति सबल नहुँदा हसिनाका पार्टीका समर्थक र हिन्दू समुदायमाथि आक्रमण बढेको छ ।
‘बंगलादेश हिन्दू, बौद्ध, क्रिस्चियन, युनिटी काउन्सिल’का अनुसार यो हप्ताको सुरुमा कम्तीमा १० वटा हिन्दू मन्दिरमा आक्रमण भएको छ । ९१ प्रतिशत मुस्लिम रहेको बंगलादेशमा दोस्रो ठूलो धर्मावलम्बी हिन्दूहरू करिब आठ प्रतिशत छन् । नयाँ पत्रीका


