प्यालेस्टाइनको हमास समूहले २२ असोज ०८० मा गाजानजिकैको इजरायली सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई युद्धविराम हुने सर्तमा मुक्त गर्ने घोषणा गरेको छ । युद्धविरामका लागि हमास समूह र इजरायलबिच विभिन्न मध्यस्थकर्तामार्फत कुराकानी भइरहेको छ । आक्रमणकै दिन हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइबारे अझै अन्योल छ ।
हमासले इजरायलसँग युद्धविराम भयो भने पहिलो चरणमा बन्दीहरू रिहा गरिने सूचना सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३४ बन्धकको सूचीमा इजरायली नागरिक मात्र छन्, यद्यपि इजरायल सरकारले यसबारे जानकारी नभएको प्रतिक्रिया दिएको छ । दशजना महिलासहित ५० देखि ८५ वर्षसम्मका बन्धकलाई पहिलो चरणमा रिहा गर्न लागिएको तथा यसमा महिला, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकता दिइएको हमासको प्रस्ताव सार्वजनिक भइसकेको छ । हमासको आक्रमणमा १० नेपालीसहित हजारभन्दा बढीको ज्यान गएको थियो । सोही हमलापछि हमासका लडाकुले विपिन जोशीलगायतलाई अपहरण गरेर प्यालेस्टिनी भूमितर्फ लगेको प्रत्यक्षदर्शी विद्यार्थीले बताउँदै आएका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जोशीको रिहाइका लागि विभिन्न अन्तर्राष्ट्रिय फोरममा मात्र नभएर प्यालेस्टाइनसँग निकट देशका कूटनीतिक च्यानल र इजरायललगायत देशमार्फत निरन्तर प्रयास गरिरहेको उनका प्रेस सल्लाहकार एकराज पाठकले बताए । ‘नेपाल सरकारले विपिनको रिहाइका लागि आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । परराष्ट्रमन्त्रीले गम्भीरतापूर्वक कूटनीतिक प्रयास गरिरहनुभएको छ,’ उनले भने । केही समयअघि एक भिडियो फुटेजमा विपिन जीवितै रहेको सूचना नेपालले प्राप्त गरेको थियो ।



