३२ असार २०८३, बिहीबार

भारतिय प्रधानमन्त्री मोदीद्वारा जेड-मोर सुरुङ उद्घाटन, कश्मीरको पर्यटन र रणनीतिक पहुँचलाई नयाँ गति

एसीपी संवाददाता

८ माघ २०८१, मंगलवार ११:४१ मा प्रकाशित

एजेन्सी  । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार जम्मू-कश्मीरको सोनमर्ग क्षेत्रमा रहेको रणनीतिक महत्वको जेड-मोर सुरुङ उद्घाटन गरेका छन्। ६.५ किलोमिटर लामो यो सुरुङले कश्मीरको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै श्रीनगर–सोनमर्ग–लेह मार्गलाई वर्षभर सुचारु बनाउने विश्वास गरिएको छ।

करीब २,७०० करोड रुपैयाँ लागतमा निर्माण भएको यो परियोजना हिम पहिरो र जोखिमपूर्ण पहाडी क्षेत्रलाई बाइपास गर्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्यले निर्माण गरिएको हो। उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीसँगै केन्द्रीय मन्त्री नितिन गडकरी, जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हा, र पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहको उपस्थिति थियो।

मोदीले उद्घाटनपछि सुरुङ अवलोकन गरे र परियोजनाका अधिकारीहरूसँग अन्तरक्रिया गर्दै कठिन परिस्थितिमा निर्माण कार्य सम्पन्न गर्ने श्रमिकहरूप्रति प्रशंसा व्यक्त गरे। सुरुङमा आपत्कालीन अवस्थाका लागि समानान्तर निकासी मार्गसमेत रहेको छ, जसले दुईतर्फी यातायातलाई थप सुरक्षित बनाउँछ।

यो सुरुङ समुद्री सतहबाट ८,६५० फिटको उचाइमा अवस्थित छ। यसले कश्मीरको गन्देरबल जिल्लाको गगनगीर र सोनमर्गलाई जोड्दै पर्यटकीय तथा रणनीतिक महत्त्वको क्षेत्रलाई हिमाली मौसमको बाधाबाट मुक्त गरिदिनेछ।

प्रधानमन्त्री मोदीको यो भ्रमण विधान सभा चुनावपछि जम्मू-कश्मीरको पहिलो औपचारिक भ्रमण हो। उनले श्रीनगरमा आयोजित एक जनसभालाई पनि सम्बोधन गर्दै यो सुरुङले विकास र पहुँचको नयाँ युगको थालनी गर्ने विश्वास व्यक्त गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x