३२ असार २०८३, बिहीबार

महाराष्ट्र रेल दुर्घटना : १२ मृतकमध्ये तीन नेपाली नागरिक

एसीपी संवाददाता

१० माघ २०८१, बिहीबार ११:३६ मा प्रकाशित

भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ ४:४२ बजे ठूलो रेल दुर्घटना भएको छ। यहाँ पचोरा स्टेशन नजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो। यसै क्रममा केही यात्रुले चेन तानेका थिए। जस कारण ट्रेन रोकियो र भयभीत भएका यात्रुहरूले बाहिर हामफालेका थिए। यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कुल्चेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

जलगाउँका एसपीले ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ। जबकि विशेष प्रहरी महानिरीक्षक दत्तात्रय करालेले पीटीआईलाई जानकारी दिएअनुसार १२ शव सिभिल अस्पतालमा पठाइएको छ।

मृत्यु हुनेमा तीन जना नेपाली नागरिक पनि रहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ। जसमा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नबीन भण्डारी रहेको समाचारमा भनिएको छ। समाचारअनुसार उनीहरूको ठेगाना भने खुल्न सकेको छैन।

यस्तै ४० जना यात्रुहरू घाइते भएको बताइएको छ। मध्य रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतहरूले घटना भएको ठाउँमा तीव्र मोड आएको बताए। जसका कारण अर्को ट्र्याकमा बसेका यात्रुले रेल आइपुगेको पत्तै पाएनन्।

यही कारणले कर्नाटक एक्सप्रेसले यति ठूलो संख्यामा मानिसलाई कुचेको थियो। सेन्ट्रल रेलवेका सीपीआरओ स्वप्निल निलाले भने, ‘घटनास्थल मुम्बईबाट ४०० किलोमिटर टाढा छ।’

जलगाउँको सरकारी अस्पतालमा १२ शव ल्याइएको छ। जसमध्ये ७ जनाको पहिचान भइसकेको छ। मृत्यु हुनेमा ९ जना पुरुष र ३ जना महिला रहेका छन्। एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x