“चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने ट्रम्पको योजना”
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार कर लगाउने योजना बनाइरहेका छन्। आफ्नो दोस्रो कार्यकालको पहिलो दिन राष्ट्रपति कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यो कदमबारे विचार गरिरहेको बताएका हुन्।
ट्रम्पका अनुसार यो नयाँ शुल्क फेब्रुअरी १ देखि लागू गर्ने सम्भावना छ। उनले चीनले अमेरिकामा फेन्टानिलजस्ता घातक औषधि पठाएर संकट निम्त्याइरहेको आरोप लगाएका छन्।
यसअघि, ट्रम्पले मेक्सिको र क्यानडाबाट हुने आयातमा २५ प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका थिए। चीनमाथिको यो प्रस्तावित करले अमेरिकी-चीन व्यापार सम्बन्धमा थप तनाव निम्त्याउने देखिन्छ।
ट्रम्पको यो कदमलाई घरेलु उद्योगलाई संरक्षण गर्न र चीनसँगको व्यापार घाटा घटाउन लक्षित गरिएको बताइएको छ। तर, यसले द्विपक्षीय व्यापारमा कस्तो प्रभाव पार्छ भन्नेबारे बहस सुरु भएको छ।



