३२ असार २०८३, बिहीबार

नेपालमा अमेरिकी सहायता रकमको दुरुपयोगको खुलासा, नास्तिकता फैलाउन खर्च भयो पाँच लाख डलर!

एसीपी संवाददाता

२३ माघ २०८१, बुधबार ०८:४१ मा प्रकाशित

अमेरिकी संसद्को विदेश मामिला समितिका सभापति तथा फ्लोरिडाबाट निर्वाचित रिपब्लिकन सांसद ब्रायन मास्टले नेपालमा ‘नास्तिकता’ फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको खुलासा गरेका छन्।

अमेरिकी टेलिभिजन च्यानल सीबीएसकी पत्रकार मार्गरेट ब्रेननको चर्चित कार्यक्रम ‘फेस द नेसन’मा बोल्दै सांसद मास्टले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपालमा नास्तिकता प्रवर्द्धनका लागि उक्त रकम खर्च गरिएको बताएका हुन्।

उनले अन्य देशहरूमा पनि अमेरिकी सहायता अनौठो तरिकाले प्रयोग गरिएको उदाहरण प्रस्तुत गर्दै कोलम्बियामा ट्रान्सजेन्डर अपरेसनका लागि ५० हजार अमेरिकी डलर, पेरूमा एलजीबीटीक्यू सम्बन्धी गतिविधिमा ४७ हजार डलर, तथा इक्वेडरमा ड्र्याग शोहरूमा २० हजार डलर खर्च भएको खुलासा गरेका छन्।

सांसद मास्टको यो बयान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीको गतिविधि रोक्न तीन महिनाका लागि सहायता समीक्षाको आदेश दिएपछि आएको हो। ट्रम्पले अमेरिकी सहायता रकमको दुरुपयोग भइरहेको भन्दै तत्काल सहायता रोक्ने निर्णय गरेका थिए।

यस निर्णयले विश्वभर हलचल मच्चाएको छ। अमेरिका मार्फत विभिन्न देशमा दिइने यूएसएआईडी सहायता रोकिएपछि नेपालसमेत प्रभावित भएको छ। पछिल्ला वर्षहरूमा यूएसएआईडीले नेपाललाई वार्षिक औसतमा १२५ मिलियन अमेरिकी डलर सहयोग प्रदान गर्दै आएको थियो। सहायता रोकिँदा यूएसएआईडीको सहयोगमा सञ्चालन भइरहेका विकास परियोजना र नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (आईएनजीओ) प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

नेपालमा अमेरिकी सहायता रकमको दुरुपयोग भएको भन्दै सांसद मास्टले दिएको खुलासाले नेपालमा अमेरिकी सहायता कसरी खर्च भइरहेको छ भन्ने विषयमा नयाँ बहस चुलिएको छ। नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x