४ मंसिर २०८३, बिहीबार

११ औं शताब्दीको मन्दिर विवाद: थाइल्याण्ड–कम्बोडिया झडप चुलिँदै, युद्धको संकेत?

एसीपी संवाददाता

१२ श्रावण २०८२, आईतवार १४:३७ मा प्रकाशित

थाइल्याण्ड–कम्बोडिया सीमामा सुरु भएको सैन्य झडपको तनाव चुलिँदै गएको छ। पछिल्ला गोलीबारी, हवाई आक्रमण र कूटनीतिक सम्बन्धको विच्छेदले यो क्षेत्र सम्भावित युद्धको संघारमा पुगेको संकेत दिएको छ। झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

थाइल्याण्डका स्वास्थ्य मन्त्रीका अनुसार मृतकमध्ये एक सैनिक र ११ जना सर्वसाधारण छन्। दुवै पक्षले एकअर्कालाई पहिलो गोली चलाएको आरोप लगाइरहेका छन्। बिहीबार बिहानदेखि सुरु भएको हिंसात्मक झडपले सीमावर्ती क्षेत्रमा आतङ्क फैलिएको छ। थाई पक्षले कम्बोडियाली सेनाले आफ्ना गाउँ र अस्पतालहरूमा रकेट प्रहार गरेको दाबी गर्दै केही कम्बोडियाली सैन्य संरचनामा हवाई बमबारी गरेको पुष्टि गरेको छ।

कम्बोडियाले थाई सेनामाथि आफ्ना भूभागमा आक्रमण र अत्यधिक बल प्रयोग गरेको गम्भीर आरोप लगाउँदै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठकको मागसमेत गरेको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमार्फत सैन्य आक्रमणको जवाफ सैन्य बलबाटै दिने चेतावनी दिएका छन्। “हामी सधैं वार्तामा विश्वास गर्छौं, तर अहिले रक्षा गर्नु बाहेक विकल्प छैन,” उनले लेखेका छन्।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ताले थाई सेनाले एकतर्फी रूपमा सीमा नजिकैको ११औँ शताब्दीको मन्दिरतिर अघि बढ्दै काँडेतार लगाएको र साँझतिर ड्रोन हमला र गोलीबारी सुरु गरेको दाबी गरेका छन्। त्यसपछि राति ८:४६ बजे थाई सेनाले प्रत्यक्ष फायर सुरु गरेपछि आफूहरू प्रतिरक्षा गर्न बाध्य भएको कम्बोडियाको तर्क छ।

उता थाई राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले कम्बोडियाली सेनाले बिहान ७:३० बजे ड्रोन पठाएको, त्यसपछि आरपीजी हतियारसहित थाई सीमामा सशस्त्र समूह प्रवेश गरेको र बिहान ८:२० बजे गोलीबारी सुरु भएको बताए। थाई पक्षले कम्बोडियाले बीएम–२१ रकेट लञ्चर र तोपसमेत प्रयोग गरेको आरोप लगाउँदै सीमावर्ती गाउँमा ठूलो क्षति भएको उल्लेख गरेको छ।

यो सशस्त्र विवादको जरो इतिहासमै गहिरो छ। २००८ मा युनेस्को विश्व सम्पदा सूचिमा विवादित मन्दिर दर्ता गर्ने प्रयासपछि तनाव चर्किएको थियो। त्यसयता बारम्बार झडप हुँदै आएको छ। पछिल्लो तनाव गत मे महिनामा एक कम्बोडियाली सैनिकको मृत्युपछि सुरु भएको थियो, जुन अहिले पूर्ण द्वन्द्वमा रूपान्तरण हुने डर सताइरहेको छ।

पछिल्ला हप्ताहरूमा दुवै देशले सीमामा सैनिक संख्या बढाएका छन्। व्यापार निलम्बन, विद्युत् र इन्टरनेट सेवा काट्ने कदमहरू समेत चालिएको छ। कम्बोडियाले थाई फलफूल र तरकारी आयातमा प्रतिबन्ध लगाएको छ, जसले दुई मुलुकबीचको सम्बन्ध इतिहासकै निचो बिन्दुमा पुगेको संकेत दिएको छ।

बीबीसीका दक्षिण एसिया संवाददाता जोनाथन हेडका अनुसार अहिले यो विवाद पूर्ण युद्धमा रूपान्तरण हुन्छ भन्ने संभावना न्यून छ, तर दुवै देशमा जिम्मेवार नेतृत्वको अभावले संकट समाधानको बाटो अवरुद्ध देखिएको छ।

कम्बोडियाका प्रधानमन्त्री मानेट पूर्व प्रधानमन्त्री हुन सेनका छोरा हुन्, तर उनको राजनीतिक पृष्ठभूमि कमजोर छ। अर्कातर्फ, थाई सरकार अस्थिर गठबन्धनमा अडिएको छ। शक्ति सन्तुलनको डोर थाक्सिन शिनावात्रा जस्ता नेताको हातमा रहेको राजनीतिक संरचनाले समेत तनावलाई जटिल बनाएको छ।

अब प्रश्न उठेको छ— के आसियान राष्ट्रहरू हस्तक्षेप गर्छन्? उनीहरूका लागि यो आन्तरिक मामिला हो वा क्षेत्रीय स्थायित्वको सवाल? आसियानको प्राथमिकता सदस्य राष्ट्रबीच द्वन्द्व टार्नु भए पनि, अहिलेको जटिल कूटनीतिक र रणनीतिक समीकरणमा यसको भूमिका अस्पष्ट देखिन्छ।

युद्ध अझै टार्न सकिने सम्भावना छ, तर त्यसका लागि साहसी कूटनीतिक पहल र नेताहरूको परिपक्वता अपरिहार्य देखिन्छ। अन्यथा, सिमानाको यो बारुदमा आगो सल्कन धेरै समय लाग्ने छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x