नयाँदिल्लीमा राजदूत शर्माको कुटनीतिक सक्रियता, सेनापति पाण्डेसँग रक्षा सहयोगबारे छलफल
काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेसँग भेट गरेका छन् ।
नेपाली सेनाका मानार्थ महारथीसमेत रहेका पाण्डेसँग नयाँदिल्लीस्थित सैनिक मुख्यालयमा भएको भेटमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षबारे छलफल भएको राजदूत शर्माले जानकारी दिएका छन् ।
भेटमा राजदूत शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारतीय सेनालाई धन्यवाद दिएका थिए । भारतीय स्थल सेनाको सूचना निर्देशनालयले पनि भेटमा द्विपक्षीय रक्षा सहयोगका विविध पक्षमा चर्चा भएको उल्लेख गरेको छ ।
राजदूत शर्माले नयाँदिल्लीमा नेपाल देखिनेगरी कुटनीतिक सक्रियता बढाएका छन् । नेपालको हितमा द्विपक्षीय सहयोग बढाउन राजदूत शर्माले पहल थालेका छन् । यसअन्तर्गत उनले भेटघाटलाई बढाएका हुन् ।
विगतमा नेपाली राजदूतहरुले जागिरमात्रै पकाउने नयाँदिल्लीमा राजदूत शर्माले नेपालको उपस्थिति देखिनेगरी काम अगाडि बढाएका छन् ।



