भारत गौरव पर्यटक रेल’ जनकपुर आउँदै
भारतले सुरू गरेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आउने भएको छ। भारतीय पर्यटक बोकेर उक्त रेल जनकपुर आउन लागेको हो।
नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाका अनुसार त्यो रेल दिल्लीबाट मंगलबार साँझ हिँडिसकेको छ।
भारतले बनाएको ‘रामायण’ सर्किटमा चल्ने त्यो रेल अब बेलाबेलामा जनकपुर पनि आउनेछ। भारतको अयोध्यादेखि जनकपुरसम्म जोडिने मार्गलाई भारतले रामायण सर्किट भनेर नाम दिएको छ।
यो सर्किटमा चल्ने रेल अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रसम्म पुग्छ।
भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ।
भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइन्छ।


