राजदूत शर्माले भेटे भारतीय वित्तमन्त्री
काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँग भेट गरेका छन् ।
शर्माले बुधबार भारतीय वित्त मन्त्रीसँगको भेटेको तस्वीर सार्वजनिक गरेका छन् । डा. शर्माका अनुसार भेटमा दुई मुलुकबीच आर्थिक, वित्तीय तथा बैंकिङ क्षेत्रमा सुधारका सम्भावनाबारे छलफल भएको छ । यसअघि डा. शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् । सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ (डिसेम्बर १०) मा परराष्ट्र मन्त्रालयले भारतलाई सहमतिका लागि पत्र पठाएको थियो । सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति ‘एग्रिमो’ पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ । अनलाइनखबर बाट


