१२ मंसिर २०८३, शुक्रबार

महाभियोग सिफारिस समितिको बैठकमा कार्यविधि स्वीकृत गरिने

एसीपी संवाददाता

७ भाद्र २०७९, मंगलवार १८:४४ मा प्रकाशित

काठमाडौंं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि लगाइएको महाभियोग छानबिन गर्न गठित सिफारिस समितिका बैठक बस्दैछ । दिउँसो ३ बजे सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा बैठक बसिरहेका छन् । आजको बैठकमा महाभियोग माथिको छानबिन कसरी टुङ्ग्याउने, संसद् सचिवालयले बनाएको कार्यविधिलाई स्वीकृत गर्ने एजेन्डा रहेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।

यस्तै आजको बैठकले समितिको सभापति चयन गर्न सक्ने विष्टले बताए । समितिले अब समय तालिका बनाएर महाभियोग माथि छानबिन कार्य अघि बढाउने तयारी गर्दैछ । महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि २०७९ तयार भइसकेको छ ।

के छ समितिको आन्तरिक कार्यविधिमा ?

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६३ को उपनियम ५ ले दिएको अधिकार प्रयोग गरी बनाइएको आन्तरिक कार्यविधिको मस्यौदामा समिति सभापतिले बैठक बोलाउने, समितिको एक तिहाइ सदस्यहरूले बैठक बोलाउन लिखित अनुरोध गरेमा ३ दिनभित्र सभापतिले बैठक बोलाउनुपर्ने प्रावधान राखिएको छ । बैठकमा काबु बाहिरको परिस्थितिमा बाहेक सदस्यहरू उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ ।

यस्तै समितिको बैठकको निर्णय सामान्यतया सर्वसम्मत ढंगले गर्ने र सर्वसम्मत हुन नसके बहुमतबाट निर्णय गर्ने, समितिमाथि आएको उजुरीमाथि छलफल र विश्लेषण गरी महाभियोग लाग्न सक्ने मनासिब कारण र पर्याप्त आधार भएको नभएको बारे छलफल गर्ने, उजुरी परेपछि सो उजुरी प्रतिनिधि सभाका कम्तीमा ३ सदस्यले सभापति समक्ष ७ दिनभित्र सनाखत नगरेसम्म त्यस्तो उजुरीमाथि छानबिन नगरी तामेलीमा राख्न सक्ने प्रावधान राखिएको छ ।

यस्तै महाभियोग लागेको व्यक्तिलाई कारबाही अगाडि बढाउनुपर्ने अवस्था देखिएमा सोही आधार र कारण खुलाई आरोप लागेको व्यक्तिलाई समयावधी तोकी आफ्नो सफाइ पेस गर्ने मौकाको लागि लिखित सूचना दिनुपर्ने प्रावधान राखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x