नेपालको जलविद्युतमा भारतीय उद्योगपति अडानीको चासो
काठमाडौं । संसारकै धनी व्यक्तिको सूचीमा रहेका भारतीय उद्योगी गौतम अडानीको ‘अडानी ग्रुप’ले नेपालको जलविद्युत् र विद्युत् पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । अडानी संसारकै धनीहरुको सूची(फोर्ब्स म्यागेजिन)मा तेस्रो स्थानमा छन् ।
अडानी ग्रुपले नेपालमा ठूला जलविद्युत परियोजना, अन्तरदेशीय प्रसारणलाइन र आन्तरिक प्रसारण लाइनहरुमा लगानी गर्न प्रस्ताव गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीका अनुसार वैशाखयता मात्रै अडानी ग्रुपका प्रतिनिधि तीन पटक काठमाडौं आइसकेका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका उच्च अधिकारीलाई भेटेर लगानीका लागि प्रस्ताव गरेका छन् ।
‘मुख्य गरी उहाँहरुको ध्यान कर्णाली बेसिनको आयोजनाहरुमा छ,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘पहिलो चरणमा अडानी ग्रुपले कम्तीमा एक हजारदेखि दुई हजार मेगावाटसम्मका परियोजनामा लगानी गर्न चाहिरहेको छ ।’ गत् वर्ष चैत्र १८ मा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि भारतीय कम्पनीहरुले नेपालका ठूला जलविद्युत् परियोजना चासो देखाउँदै आएका छन् ।


