१२ मंसिर २०८३, शुक्रबार

महेन्द्र–रघुवीर : कसको पल्ला भारी?

एसीपी संवाददाता

१५ आश्विन २०७९, शनिबार ०९:३४ मा प्रकाशित

काठमाडौं- आगामी प्रतिनिधिसभा निर्वाचनमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा दुई ठूला दलका पदाधिकारीबीच प्रतिस्पर्धा हुने लगभग निश्चित छ।

कुनै समय प्रथम राष्ट्रपति डा.रामवरण यादवको समेत निर्वाचन क्षेत्र रहेको त्यहाँबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठ प्रतिनिधसिभा सदस्यका लागि चुनाव लड्ने तयारीमा छन्।

मंसिर ४ गते हुने निर्वाचनका लागि यादव र महासेठले तयारी थालिसकेका छन्। दुवै नेताको पार्टी कार्यकर्ता र मतदाताहरूसँगको भेटघाट पछिल्लो समय बाक्लिएको छ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा धनुषा ४(तत्कालीन क्षेत्र नम्बर ५) मा कांग्रेसका तर्फबाट चुनाव जितेर रामवरण यादव देशकै पहिलो राष्ट्रपति बने।

त्यसको ६ महिनापछि भएको उपनिर्वाचनमा राष्ट्रपतिका छोरा डा.चन्द्रमोहन यादवलाई महासेठले पराजित गरे।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा फेरि चन्द्रमोहन र महासेठ चुनावी प्रतिस्पर्धामा उत्रिए। त्यो निर्वाचनमा चन्द्रमोहनले महासेठलाई पराजित गरे।

त्यतिबेला कांग्रेसका सहमहामन्त्री यादव समानुपातिक पद्धतीबाट संविधानसभा सदस्यमा निर्वाचित भए।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर ४(१) बाट चन्द्रमोहन प्रदेससभा सदस्यमा चुनाव लडे भने यादव प्रतिनिधिसभातर्फ।
उनका प्रतिस्पर्धी थिए, महासेठ। त्यो निर्वाचनमा कांग्रेसका सहमहामन्त्री यादव महासेठबाट पराजित भए।

महासेठले २२ हजार ५३२ मत ल्याउँदा महेन्द्रले १९ हजार ९९१ मत प्राप्त गरे।

त्यस्तै तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का महाजन यादवले १९ हजार ६६२ मत ल्याएर तेस्रो भएका थिए।

अघिल्लो चुनावको भन्दा यसपटक परिस्थिति फेरिएको छ। त्यतिबेला महासेठ एमाले र माओवादीका तर्फबाट वाम गठबन्धनका उम्मेदवार बनेका थिए।

यसका साथै एमाले सग्लो थियो। अहिले एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनिसकेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी पाँचदलीय गठबन्धनमा आवद्ध छ।

महासेठले त्यतिबेला पाएको मतमा माओवादी केन्द्र र एमालेका माधव नेपाल समूहको समेत ‘हिस्सा’ छ।

चुनावसम्म पाँचदलीय गठबन्धन कायमै रहे आगामी निर्वाचनमा महासेठले माओवादी र एकीकृत समाजवादीको मत नपाउन सक्छन्।

धनुषा ४ मा एमालेबाट महासेठको नाम एकल सिफारिस भएको छ। तर, सत्ता गठबन्धनमा त्यो क्षेत्रका लागि कांग्रेस र जसपा दुवैको दाबी छ। जसपाले धनुषाको कुल ४ क्षेत्रमध्ये २, ३ र ४ का लागि दाबी गरेको हो।

यद्यपि सत्ता गठबन्धनभित्र धनुषाको सिट बाँडफाँटमा अन्तिम टुंगो लागि सकेको छैन।

यस्तो छ स्थानीय तह निर्वाचनको मत आँकडा

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा जनकपुरधाम उपमहानगरपालिकाको ९, १३, १४, २०, २१ र २२ सहित ५ स्थानीय तह गरी कुल ४९ वटा वडा पर्छन्।

स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत हेर्ने हो भने त्यो क्षेत्रमा सबैभन्दा बढी मत नेपाली कांग्रेसका वडाध्यक्षहरूले पाएका छन्।

७ वटा वडा रहेको लक्ष्मीनियाँ गाउँपालिकामा कांग्रेसको सबैभन्दा बढी ३ हजार ८८७ मत छ। त्यसपछि जसपाको ३ हजार १९७, एमालेको २ हजार ९८१, एकीकृत समाजवादीको १ हजार १८६ र लोसपाको १५२ मत छ।

त्यस्तै १० वटा वडा रहेको क्षिरेश्वरनाथ नगरपालिकामा पनि कांग्रेसकै वडाध्यक्षका उम्मेदवारहरूले बढी मत पाएका छन्।

त्यहाँ कांग्रेसको ७ हजार ४०५, एमालेको ६ हजार ८६५, एकीकृत समाजवादीको १ हजार १२३, जसपाको ३७३ र लोसपाको ५७९ मत छ।

बटेश्वर गाउँपालिकामा कांग्रेसको ३ हजार ५४२, एमालेको २ हजार ९५०, एकीकृत समाजवादीको १ हजार ३७३, जसपाको १९०, लोसपाको ५५७ र जसपाको १९० मत छ।

११ वटा वडा रहेको मिथिला नगरपालिकामा भने सबैभन्दा बढी एमालेका वडाध्यक्षका उम्मेदवारहरूले मत पाएका छन्।

त्यो पालिकामा एमालेका वडाध्यक्ष पदका उम्मेदवारहरूले ७ हजार २२८ मत पाएको छ भने कांग्रेसको ६ हजार ९११ मत छ।

त्यस्तै एकीकृत समाजवादीको ४ हजार २७२, माओवादी केन्द्रको १ हजार ४३९, जसपाको ४४८ र लोसपाको २६ मत छ।
९ वटा वडा रहेको मिथिला नगरपालिकामा पनि एमालकै सबैभन्दा बढी मत छ।

त्यहाँ एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ४ हजार ६१८, कांग्रेसको ३ हजार २३८, जसपाको ३ हजार २२०, माओवादी केन्द्रको २ हजार ६५७ र एकीकृत समाजवादीको १ हजार ६७ मत छ।

त्यो निर्वाचन क्षेत्रमा पर्ने जनकपुरधाम उपमहानगरपालिकाको ६ वटा वडामा भने कांग्रेसको सबैभन्दा बढी मत आएको छ।

ती वडाहरूमा कांग्रेसले पाएको कुल मत ४ हजार १२६ छ भने एमालेले ३ हजार ११८ मत ल्याएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x