१२ मंसिर २०८३, शुक्रबार

अन्ततः जसपा-लोसपालाई फसाद, चुनावी तालमेलमा चुनौती !

एसीपी संवाददाता

१६ आश्विन २०७९, आईतवार ०६:५७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा मधेसवादी दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई चुनावी तालमेल गर्न चुनौती थपिएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँड चित्त बुझ्दो नभएपछि एक्लै निर्वाचनमा भिड्न तक्सिएको जसपा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग तालमेल गर्न खोजेको लोसपालाई चुनावी तालमेल गर्न चुनौती थपिएको हो ।

आज (शनिबार) जसपाको केन्द्रीय कार्यकारिणी बैठकले सत्ता गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको छ । पार्टीका प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै एक्लै चुनावमा जाने निर्णय गरेको जानकारी दिएका छन् । जसपाको यो निष्कर्षसँगै अब सत्ता गठबन्धनमा रहने वा नरहने उसलाई चुनौती थपिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको समेत सहभागिता रहेको ५ दलीय सत्ता गठबन्धनमा आगामी मंसिरमा हुने संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँट सम्बन्धी छलफलमा हाम्रो पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको,’ जसपाको बैठकको निर्णयमा भनिएको छ, ‘यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा, नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’

सत्ता गठबन्धनले जसपाले मागे जति सिट संख्या नदिएपछि यो निर्णय गर्नु परेको जसपाका नेता बताउँछन् । जसपा केन्द्रीय कार्यकारिणी एक सदस्यका अनुसार, ‘गठबन्धन दलहरूले आफूहरूले मागे जति सिट उपलब्ध नगराएपछि आफूहरूले बाध्य भएर यस्तो निर्णय गरेको बताए ।’ उनले भने, ‘बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पनि आफूहरूले भने जति सिट संख्या पाएनौँ । त्यसका कारण हाम्रो आन्तरिक विवादले प्रश्रय पायो । आगामी निर्वाचनका लागि पनि हामीले मागे जति सिट नपाउने पक्का भएपछि पार्टीले यो निर्णय गरेको हो ।’

जसपाबाट विभाजित लोसपाले पटकपटक चुनावी तालमेलका लागि प्रस्ताव राखे पनि गठबन्धनले वास्ता नगरेपछि प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । उसले यो निर्णय गरे पनि एमालेभित्र सिट बाँडफाँडको टुंगो भने अझै लागेको छैन । यद्यपि मधेसका ३२ वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन नै बलियो देखिएपछि एमाले–लोसपाबीच चुनावी तालमेलमा हुन गाह्रो देखिएको छ । तर, जसपाले सत्ता गठबन्धनमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि अब एमालेले कस्तो निर्णय गर्छ, हेर्न बाँकी छ ।

एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार ‘सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाको भोट आकलन गर्दा गठबन्धन नै बलियो देखिएको छ । एमाले र लोसपाको भोट जोड्दा पनि मधेसका ३२ वटै निर्वाचनमा क्षेत्रमा सत्ता गठबन्धन बलियो छ, यद्यपि लोसपासँग तालमेल गर्ने वा नगर्ने त्यो केही दिनमा निर्णय हुन्छ ।’

एमाले–लोसपाको भोट जोड्दा पनि हार्ने सम्भवना पक्का देखिन्छ । त्यसैले लोसपासँग तालमेल गर्नुभन्दा एमाले एक्ला एक्लै भिड्नु उचित देखिने एमाले एक नेता बताउँछन् । लोसपाले यो कुराको चाल पाएपछि जति सक्यो एमालेसँग चुनावी तालमेलको टुंगो लगाउने बताउँदै आएको छ । चुनावी तालमेलका लागि बारम्बार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पनि चित्त बुझ्दो प्रतिक्रिया नदिएको लोसपाका एक नेताले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x