अमेरिकाविरुद्ध चिनियाँ र रुसका मिडियाद्वारा गलत प्रचार गरिएपछि अमेरिकी मन्त्री नेपालमा
काठमाडौं। चिनियाँ र रुसी सञ्चारमाध्यमहरुले नेपालमा रहेर अमेरिकाविरुद्ध गलत समाचारहरु सम्प्रेषण गरेको भन्दै यसबारे बुझ्न अमेरिकी मन्त्री नेपाल आउने भएकी छन्। नेपालमा रहेर अमेरिकी परियोजना तथा कार्यक्रमविरुद्ध गलत समाचारहरु सम्प्रेषण गर्ने तथा गलत गतिविधिहरु गर्ने गरेकोबारे बुझ्न कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाडौं आइपुगेकी छन्।
विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो बुधबार बिहान काठमाडौं ओर्लिएकी हुन्। यसअघि चिनियाँ सञ्चारमाध्यमहरुले एसपीपी, एमसीसी तथा तिब्बत र ताइवान मामिलालगायतका विषयमा चिनियाँ तथा रुसी मिडियाहरुले अभियान नै सञ्चालन गरेका थिए।
उक्त गलत अभियानहरुलाई रोक्नका लागि नेपाल सरकारसँग पनि अमेरिकाले आग्रह गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।
अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ। नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन्।
पछिल्लोपटक नेपालमा अमेरिकाले अघि सारेको एमसीसी परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमणपूर्ण सूचना दिएको आरोप अमेरिकाले लगाएको थियो। तर चीनले उक्त आरोप अस्वीकार गरेको थियो। नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले अमेरिकी संसद् सिनेटमा गत जुलाईमा संसदीय सुनुवाइका क्रममा चीनले एमसीसीबारे भ्रमणपूर्ण सूचना फिँजाए पनि नेपालको संसदले एमसीसी परियोजना पास गरेको बताएका थिए।
त्यसलगत्तै नेपालस्थित चिनियाँ दूतावासले उक्त आरोपको खण्डन गरेको थियो। चिनियाँ दूतावासले अमेरिकी राजदूतको अभिव्यक्ति चीनलाई बदनामी गराउने चालका रूपमा व्याख्या गर्दै राजदूतको भनाइले नेपाल र नेपाली जनताको अपमान भएको बताएको थियो।
अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टका अनुसार उनले नेपालमा रहँदा अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम छ। उनले विगतमा अमेरिकी दूतावासको प्रायोजनामा अमेरिका भ्रमण गरेका केही नेपालीसँग पनि छलफल गर्नेछन्। नेपाल बसाइमा ट्रुडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गरिरहेका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदा अवलोकन गर्नेछन्।
अमेरिकी कूटनीतिज्ञ ट्रुडोले नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको अमेरिकी दूतावासका अधिकारीहरुले बताए। १२ दिनको विदेश यात्रामा निस्किएकी उनी नेपालपछि संयुक्त अरब इमिरेट्स जानेछिन्। त्यसपछि उनी मध्य एसियाका उज्वेकिस्तान र किर्गिस्तान जाने कार्यक्रम छ। न्।


