मधेस प्रदेस : सत्ता गठबन्धनका मन्त्रीहरू सामूहिक राजीनामा दिने तयारीमा
काठमाडौं- सत्ता गठबन्धनका तर्फबाट मधेस प्रदेस सरकारमा सामेल मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा सामेल जसपाका चार मन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धनका तर्फबाट मधेस प्रदेस सरकारमा सामेल मन्त्रीहरू सामूहिक राजीनामा गर्ने तयारीमा जुटेका हुन्।
सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले बिहीबारमात्रै जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका हुन्। सत्ता गठबन्धनबाट बाहिरिए पनि जसपाका मन्त्रीहरूले राजीनामा दिएका थिएनन्।
२२ असोजमा गठबन्धनबाट बाहिरिएका जसपाका मन्त्रीहरूले राजीनामा नगरेपछि प्रधानमन्त्री देउवाले उनीहरूलाई बर्खास्त गरेका हुन्।
त्यसलगत्तै मधेस प्रदेसका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धनका तर्फबाट प्रदेस सरकारमा सामेल मन्त्रीहरूलाई राजीनामा गर्न आग्रह गरेका छन्।
राउतले यस्तो आग्रह गरेपछि गठबन्धनका घटक दल नेपाली कांग्रेस, माओावदी केन्द्र र नेकपा(एकीकृत समाजवादी) का मन्त्रीहरू सामूहिक राजीनामा दिन लागेका हुन्।
भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री राउतले राजीनामा गर्न आग्रह गरेको बताए।
‘केन्द्रमा चार जना मन्त्रीलाई बर्खास्त गरिएको छ, तपाईंहरूले पनि राजीनामा गरिदिएर सहयोग गरिदिनुप¥यो,’ मुख्यमन्त्री राउतको भनाइ उद्धृत गर्दै यादवले भने।
उनले यसबारे गठबन्धनका घटक दलहरूबीच शुक्रबार बिहानै छलफल गर्ने जानकारी दिए।
पर्यटनमन्त्रीसमेत रहेको नेकपा(एकीकृत समाजवादी) का संसदीय दलका नेता शत्रुध्न महतोले शुक्रबार आफूहरूले सामूहिक राजीनामा गर्ने बताए।
‘मुख्यमन्त्रीले हामीलाई बर्खास्त गरिरहनु पर्दैन, हामी आफैं राजीनामा गरिरहेका छौं,’ महतोले आयोमेलसँग भने,‘भोलि घटक दलहरूको छलफल बोलाएका छौं। त्यसपछि राजीनामा आउँछ।’
मधेस प्रदेस सरकारमा कांग्रेसका तर्फबाट संसदीय दलका नेता यादवसहित वीरेन्द्रप्रसाद सिंह र ओमप्रकाश शर्मा मन्त्री छन्।
माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साह र रूबी कर्ण सरकारमा सहभागी छन्।
त्यस्तै एकीकृत समाजवादीका तर्फबाट महतो र प्रमोद यादव सरकारमा सामेल छन्।


