नेपाल , भारतका प्रशासन र सुरक्षा अधिकारीबीच अन्तरसीमा समन्वय बैठक
भैरहवा — आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालगायत विषयमा छलफल गर्न नेपाल र भारतका प्रशासन र सुरक्षा अधिकारीबीच शनिबार रुपन्देहीमा अन्तरसीमा समन्वय बैठक हुँदैछ । समन्वय बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र यहाँका तीन जिल्लासित सीमा गाँसिएका भारतका सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डीएम र सुरक्षा प्रमुखको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
‘मुख्य त निर्वाचनका बेला सीमा सिल गर्ने विषयमा छलफल हुन्छ,’प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘त्यसबाहेक चोरीपैठारी, आपराधिक गतिविधि नियन्त्रण, संयुक्त गस्ती र द्विपक्षीय सरोकारका विषयमा छलफल हुनेछ ।’
प्रशासनका अनुसार शनिबार बिहान ११ बजेदेखि रुपन्देहीको छपियास्थित एक होटलमा बैठक तय भएको छ । उक्त बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा सरोकारवालाको सहभागीता रहनेछ । बैठकमा पेस गरिने एजेन्डाबारे तयारी पूरा भएको छ । जिल्लामा निर्वाचन तयारी लगभग पूरा भइसकेको छ । तयारीकै क्रममा निर्वाचनलाई सुरक्षित र भयरहित तुल्याउन सीमा समन्वय बैठक आयोजना गरिएको पाण्डेले बताए ।


