२१ श्रावण २०८३, बिहीबार

चिनियाँ नागरिकहरु नेपालमा अध्ययनका लागि आफ्नो नाम किन गरे परिवर्तन ?

एसीपी संवाददाता

१४ पुष २०८०, शनिबार २०:५१ मा प्रकाशित

चीनका विभिन्न विश्वविद्यालयबाट हरेक वर्ष चिनियाँ विद्यार्थीहरू एक सेमेस्टर नेपाली भाषा पढ्न नेपाल आउँछन्। यहाँ पढ्दा आफ्नो नाम नेपालीमै राख्छन्। उनीहरूका लागि हप्ताको दुई दिन मात्र कक्षा हुन्छ । 

काठमाडौँ– बालकुमारीस्थित काठमाडौँ विश्वविद्यालय ‘स्कुल अफ आर्ट्स’को तेस्रो तलामा नेपाली भाषाको कक्षा चलिरहेको थियो। तर नेपाली भाषा पढ्ने नेपाली नागरिक थिएनन्। त्यहाँ चिनियाँ विद्यार्थीहरू ध्यानपूर्वक नेपाली सिकिरहेका थिए।

शिक्षक धनप्रसाद पण्डित (६५) पाठ पढाइसकेपछि नेपालीमै प्रश्न सोध्छन्। विद्यार्थी पनि नेपाली भाषामा नै उत्तर दिने प्रयास गर्छन्।

चीनको सुझोउकी यान रन (२०) ले नेपाल आएर पहिलोपटक नेपाली भाषा पढेकी होइनन्। उनले चिनियाँ सञ्चार विश्वविद्यालयको स्नातक तहमा दुई वर्ष नेपाली भाषा पढिसकेकी छिन्। त्यसपछि विश्वविद्यालयकै पाठ्यक्रमबमोजिम चार महिनाको एउटा सेमेस्टर पूरा गर्न उनी नेपाल आएकी हुन्।

यान नेपाल आएको तीन महिना बितिसकेको छ। उनी पाटनमा बस्छिन्। हरेक दिन बालकुमारीस्थित काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट धाउँछिन्। नेपाल बसुन्जेलका लागि उनले आफ्नो नाम पनि नेपाली भाषामै ‘गरिमा’ राखेकी छन्। दैनिक अन्तरक्रियाका लागि नेपालीलाई आफ्नो नाम उच्चारण गर्न गाह्रो पर्ने हुँदा नेपाली नाम नै राखेको उनी बताउँछिन्।

 

तस्वीर: किसन पाण्डे/उकालो

नेपालबारे चीनमै थाहा पाएको र दुई वर्ष नेपाली भाषा पनि पढेपछि थप बुझ्न र पढ्न नेपाल आएको उनले बताइन्। “नेपाल धेरै मन पर्ने भएको हुनाले स्नातकमा मुख्य विषय नेपाली नै लिएर पढेँ। दुई वर्षसम्म चीनमा पढ्दा नेपाली भाषा रमाइलो लाग्यो। त्यसैले नेपाल आएर केही महिना नेपाली भाषा पढ्ने निर्णय गरेँ,” उनले भनिन्।

अधिकांशलाई नेपाली भाषा रोचक लागे पनि केहीलाई सिक्न गाह्रो भइरहेको चीनबाट आएका विद्यार्थी बताउँछन्। चीनको हांग्जाउ शहरका वाङ यिचेङ (२१) सुन्धारामा बस्छन्। उनले नेपाली नाम सीताराम राखेका छन्। उनी पनि युनान विश्वविद्यालयमा स्नातक तहमा दुई वर्ष नेपाली भाषा पढेर नेपाल आएका हुन्।

चीनमा दुई वर्ष नेपाली भाषा पढेर आए पनि शब्दहरू चिन्न गाह्रो भएको उनको अनुभव छ। उनी भन्छन्, “अझै पनि ब÷भ र क÷घ बीचको भिन्नतामा झुक्किन्छु। पढ्दै गर्दा अक्षरहरू छुट्याउन समस्या हुन्छ। लेख्दा र बोल्दा पनि गल्ती भइरहेको छ।”

यान र वाङसहित अहिले १४ जना चिनियाँ विद्यार्थी नेपाली भाषा पढिरहेका छन्। अघिल्लो वर्ष नेपाली भाषा पढ्न आउने चिनियाँ विद्यार्थीको संख्या १९ थियो। यो वर्ष कम भए पनि आउँदो वर्ष यो संख्या ५० जनासम्म पु‍र्‍याउने लक्ष्य रहेको काठमाडौँ विश्वविद्यालय ग्लोबल म्यानेजमेन्ट डिभिजनका निर्देशक उद्धव प्याकुरेल बताउँछन्।

प्याकुरेलका अनुसार काठमाडौँ विश्वविद्यालयले सन् २०१५ देखि चिनियाँ विद्यार्थीलाई नेपाली भाषा पढाउन थालेको हो। चिनियाँ विश्वविद्यालयले नै आफ्ना विद्यार्थीलाई एक सेमेस्टर नेपाली भाषा पढाउन काठमाडौँ युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्टसँग आग्रह गरेको थियो। प्याकुरेलले भने, “एक सेमेस्टरको ९८ हजार देखि एक लाख २३ हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ। यो पढाइ शुल्क मात्र हो। खाना, बस्नेलगायत व्यवस्था विद्यार्थीले नै गर्नुपर्छ।”

चिनियाँ विद्यार्थीलाई नेपाली पढाइरहेका धनप्रसाद पण्डित विश्वभाषा र पद्यकन्या क्याम्पसका पूर्वप्रमुख हुन्। काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टको आग्रहमा उनले चिनियाँ विद्यार्थीलाई पढाउन थालेका हुन्। उनी हप्ताको पाँच दिन दुई घन्टा नेपाली भाषा पढाउँछन्। बाँकी पाँच दिन चिनियाँ विद्यार्थी घुम्ने र नेपाली भाषा बोलचाल सिक्ने तथा अभ्यास गर्ने गर्छन्।

पण्डितले ३७ वर्षदेखि विदेशीलाई नेपाली भाषा पढाइरहेका छन्। विदेशीलाई आफ्नो मातृभाषा नेपाली पढाउन तालिम लिएका उनीसँग ब्रिटिश, जापानिज, जर्मन र  संयुक्त राष्ट्रसंघको स्वयंसेवक, अमेरिकी पिस्कोर, डेनिस स्वयंसेवक, कोइका स्वयंसेवकका रूपमा नेपाली भाषा पढाएको अनुभव छ। साथै, उनले विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका सदस्यलगायतलाई नेपाली भाषा पढाएका छन्।

विदेशी विद्यार्थीलाई नेपाली भाषा सिकाउँदा नेपाली कला, संस्कृति, र सम्पदाको प्रवर्द्धन हुने पण्डित बताउँछन्। उनी भन्छन्, “विभिन्न देशका विद्यार्थीेलाई भाषा सिकाउँदा हाम्रो कला, संस्कृति, सम्पदा, चाडपर्वलगायतको प्रवर्द्धन हुन्छ।”

चिनियाँ विद्यार्थीले चार महिना नेपाल बसेर भाषा मात्र नभई संस्कृति र चाडपर्वबारे पनि सिकिरहेका छन्। दशैँ र तिहारमा आफूहरू नेपालमै बसेको कारण यहाँको चाडपर्व र संस्कृतिबारे थाहा पाउन सहज भएको उनीहरू बताउँछन्। स्थानीयहरूसँग दैनिक अन्तरक्रिया गर्दा नेपाली बोल्न पनि सहयोग पुगेको उनको भनाइ छ।

बेइजिङकी वाङ युरान अर्थात्, इर्सिता (२०) ललितपुरको नेवारी समुदायमा बस्दै आएकी छन्। उनले पनि चिनियाँ सञ्चार विश्वविद्यालयमा दुई वर्ष नेपाली भाषा पढेकी थिइन्। नेपाल आएपछि स्थानीयसँगको दैनिक अन्तरक्रियाले बोलीमा सुधार भएको उनको भनाइ छ। उनले भनिन्, “नेपाली भाषाको व्याकरण गाह्रो छ। तर नेपाल आएपछि यहीँ बसेर यहाँका मानिससँग नेपाली भाषामा निरन्तर अन्तरक्रिया गर्दा उच्चारणमा सुधार भएको छ।”

चिनियाँ विद्यार्थीहरूले नेपाली भाषा रमाइलोको लागि मात्र पढेका होइनन्। आफ्नै देशमा फर्केर त्यहाँ नेपाली शिक्षक बनेर पढाउने उनीहरूको योजना छ।

नेपाली नाम तारा राखेकी डोंग यिचेन (२१) चीनको शौगुआङकी हुन्। उनी अहिले पाटन दरबार क्षेत्र नजिकै बसिरहेकी छन्। अब नेपालीमा स्नातकोत्तर गरेपछि चीनमा नेपाली पढ्ने चिनियाँलाई पढाउने उनी बताउँछिन्। “स्नातक पूरा गरेपछि त्यसैमा मास्टर्स गर्ने योजना छ। त्यसपछि, शिक्षक बनेर चीनमा चिनियाँ विद्यार्थीलाई नेपाली भाषा पढाउन चाहन्छु,” उनले भनिन्। उकालो बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x