खानेपानीमन्त्री यादवको हर्कतले मधेशमा सत्ता गठबन्धनभित्र विद्रोह, राष्ट्रियसभा चुनावमा हराउने अभियान
काठमाडौं । संघीय खानेपानी महिन्द्रराय यादवको हर्कतले मधेशमा सत्ता गठबन्धनभित्र विद्रोहको अवस्था सिर्जना भएको छ । बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट सांसद बनेर अहिले मन्त्री खाइरहेका यादवले सर्लाहीमा कांग्रेसले जितेको पालिकामा कामै हुन नदिई बन्धक बनाइरहेका छन् । आफ्नो गृहनगर सर्लाहीको हरिपूर्वा नगरपालिकामा कांग्रेसले जितेको उनले सहेका छैनन् । हारको चोटमा उनले कांग्रेसबाट निर्वाचित पालिका प्रमुखलाई काम गर्न दिएका छैनन् । केन्द्र सरकारमा बसेर मन्त्री यादवले कांग्रेसको नेतृत्व आएपछि पालिकामा प्रमुख प्रशासकीय अधिकृत जान दिएका छैनन् । बीचमा एक दुई जना पठाए पनि टिक्नै नदिइ फिर्ता बोलाउन यादवले दबाब दिने गरेका छन् । पछिल्लोपटक शम्भु थापा चौथो पटक आएका थिए । एक महिनामै उनको सरुवा भयो । कहिले एक घण्टामा त कहिले एक दिनमा त कहिले एक हप्तामा सरुवा गराउने गरेका छन् । यादवले प्रशासकीय अधिकृत टिक्न नदिन प्रधानमन्त्रीलाई भनेर गर्ने गरेका छन् । प्रधानमन्त्रीले सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई फोन गरेर ‘त्यो महेन्द्रजीको पालिका हो, त्यहाँ हस्तक्षेप नगर्नु, महेन्द्रजी जे भन्नुहुन्छ त्यही गर्नुस्’ भन्ने गरेको पनि मन्त्रालयका अधिकारी बताउँछन् । यसैकारण पछिल्लो आर्थिक वर्षमा १५ करोड रुपैयाँ फ्रिज भएको पालिकामा यसपालि पनि अहिलेसम्म कुनै काम सूचारु हुन सकेको छैन । हरिपूर्वा नगरपालिकामा कांग्रेसका विनोदकुमार साह मेयर जितेका छन् । उनले पार्टीको नेतृत्वलाई भने पनि उदासिन छ । कांग्रेसको नेतृत्व, सभापति शेरबहादुर देउवा उदासिन हुँदा प्रचण्डले भिटो पावर लिएरै महिन्द्रलाई सहयोग गरिरहेको अवस्थामा उनले विद्रोही अभियान चलाएका हुन् ।
त्यसो त जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि कांग्रेसका नेताहरुले बारम्बार भनेका छन् । जनमत अध्यक्ष सीके राउतलाई पनि विन्ती गरेका छन् । तर कतैबाट पनि केही सीप लागेन । नलागेपछि मेयर साह लाचार भएर बसेका छन् । पद कार्यकारी भए पनि कर्मचारीबिना काम गर्न पाएका छैनन् । कर्मचारी ल्याउन आफ्नै पार्टीको साथ पाएनन् ।
चारैतिरबाट निराश मेयर साहले सत्ता गठबन्धनलाई देखाइदिने रणनीति लिएका छन् । सर्लाही कांग्रेसको नेतृत्व तथा मधेश कांग्रेसको संगठनमा प्रभाव राख्ने मेयर साहले आसन्न राष्ट्रियसभा चुनावमा गठबन्धन उम्मेदवारलाई हराउने अभियान थालेका छन् ।
आफै पनि चुनावमा मतदाता रहेका साहले गठबन्धनबाट पीडित पार्टीबाट निर्वाचित पालिका जनप्रतिनिधिका साथै प्रदेश सांसदहरुलाई पनि गोलबद्ध पार्न लागिपरेका छन् । आफ्नो समस्यामा मुकदर्शक नेतृत्वलाई उत्तरदायी बनाउन मेयर साहले यो अभियान चलाएका हुन् ।
उनले मधेश प्रदेशमा गठबन्धनबाट राष्ट्रियसभा उम्मेदवार आनन्दप्रसाद ढुंगाना र पुजा चौधरीलाई मत नदिने वातावरण बनाउँदैछन् । सर्लाहीका अधिकांश नेता उनको पक्षमा छन् । कुनै हालतमा मत नदिने अडान लिएका छन् ।
चुनावमा मत चाहने हो भने प्रधानमन्त्री दाहाल वा सामान्य प्रशासन मन्त्रालयले जोसुकैलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाउनुपर्ने उनको माग छ । यति मितिदेखि यति मितिसम्मका लागि भनेर प्रशासकीय अधिकृत पठाउनुपर्ने र लेखेर दिनुपर्ने माग गरेका छन् । सर्लाहीमा मात्र नभई अन्य जिल्लामा यसको बाछिटाहरु परिरहेको छ । सत्ता गठबन्धनलाई मत नदिने तयारी मेयर उपमेयर तथा विधायकहरुको छ । कांग्रेस सर्लाहीको नेतृत्व पनि मेयर साहको पक्षमा रहेको नेताहरु बताउँछन् ।


