११ आश्विन २०८३, आईतवार

नेपाल –भारतको सम्बन्ध दुई शरीर एउटै प्राण : मुख्यमन्त्री योगी

एसीपी संवाददाता

२४ माघ २०८०, बुधबार १५:१५ मा प्रकाशित

काठमाडौं  ।  भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारतको सम्बन्ध ‘दुई शरीर एउटै प्राण’ जस्तो रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा भारत भ्रमणमा रहेका नेपाली सांसदहरूसँग लखनउस्थित सरकारी निवासमा भएको भेटघाटमा सो कुरा उनले बताएका हुन् ।

देश दुइटा भए पनि हरेक कुरा एउटै रहेको धारणा राख्दै उनले रोटीबेटीको सम्बन्धभन्दा माथि पनि दुई देशको बिचमा सम्बन्ध रहेको बताए । ‘नेपाललाई म सम्मान गर्छु । नेपालसँग कूटनीतिक र राजनीतिक सम्बन्ध छ, त्यो आफ्नै ठाउँको कुरा हो । तर त्योबाहेक पनि भावनात्मक सम्बन्ध छ, जुन विश्वका कुनै पनि देशसँग छैन,’ मुख्यमन्त्री योगीको कुरालाई उद्धृत गर्दै समितिका सभापति राजकिशोर यादवले भने, ‘नेपाल–भारतबिचको सम्बन्धलाई कुनै पनि रूपमा बयान गर्न सकिँदैन, हाम्रो अद्भुत सम्बन्ध रहेको छ ।’

अयोध्या आउने नेपालीलाई भारतीय नागरिक सरह व्यवहार गर्न आफूले यहाँको सरकारलाई निर्देशन दिइसकेको कुरा राख्दै मुख्यमन्त्री योगीले नेपाल र भारतका जनताबिच आफूले कुनै अन्तर नदेखेको धारणा राखेका थिए ।

भारत आर्थिक रूपमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको र चाँडै नै भारत अर्थतन्त्रमा विश्वको तेस्रो मुलुक बन्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री योगीले यसबाट नेपालले पनि फाइदा लिनुपर्ने धारणा राखेका थिए । भारतले आर्थिक रूपमा गरिरहेको विकासबाट नेपालले फाइदा लिनसक्ने र त्यसमा आफूले पूर्ण सहयोग गर्न तयार रहेको उनले बताएका थिए । नेपालप्रति प्रधानमन्त्री नरेन्द्र मोदी पनि असाध्यै सकारात्मक रहेको हुनाले यसबाट जतिसक्दो फाइदा नेपालले लिनुपर्ने धारणा मुख्यमन्त्री योगीको थियो ।

भेटमा सभापति यादवले प्रधानमन्त्री मोदीले भने जस्तै सीताबिना राम अधुरो छ भने जस्तै अयोध्याबिना जनकपुर अधुरो रहेको धारणा राखेका थिए । ‘जसरी अयोध्याप्रति विश्वको ध्यानाकर्षण गराउन सफल हुनुभयो त्यसरी नै जनकपुरका लागि गर्नुपर्ने देखिन्छ,’ उनले मुख्यमन्त्री योगीलाई भने, ‘अयोध्या जस्तो जनकपुर पनि हुनुपर्छ अनि मात्र राम र सीताको जोडी पूर्ण हुन्छ ।’

हरेक वर्ष अयोध्या घुम्न आउने लाखौँ पर्यटकलाई जनकपुरसम्म पुर्‍याउने व्यवस्था युपी सरकारले गर्नुपर्ने प्रस्ताव समितिका सभापति यादवले राखेका थिए । अयोध्या आउने धार्मिक पर्यटक जनकपुर नगई पुण्य नपाउने हुनाले अयोध्या भ्रमणमा जनकपुरलाई पनि प्याकेजमै राख्नुपर्ने कुरा उनले राखेका थिए ।

त्यसमा मुख्यमन्त्री योगीले आफू जनकपुर–अयोध्यालाई जोड्न र त्यसको विकासका लागि गर्नुपर्ने हरेक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । यसअघि पनि प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा गएको बेला अयोध्या–जनकपुर सर्किट निर्माण गर्ने भनेर घोषणा नै गरेका थिए । त्यसका लागि नेपाल सरकारलाई बजेट पनि भारत सरकारले दिएको छ ।

patel

नेपालका सांसदहरूले आजै उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र त्यहाँका विधान सभाका सभामुखसँग पनि भेटघाट गरेका थिए । नेपाली सांसदहरूले विधानसभाको अवलोकन गरेका थिए । सो क्रममा विधान सभाका सदस्यहरूले नेपाली सांसदहरूलाई स्वागत तथा सम्मान गरेका थिए । रातोपाटि बाट साभार

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x