अहिले फेरि महासमितिको बैठक आउन केही समय बाँकी रहँदा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा सनातन नेपालमा हिन्दुराष्ट्र स्थापनाका लागि भन्दै महाअभियानको घोषणा भएको छ । यसरी महाअभियान नै घोषणा भएकाले उनले यो विषय महासमिति बैठकमा प्रवेश गराउने प्रयास त गर्ने नै छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षताका बारेमा पार्टीमा छलफल गर्न सकिने सार्वजनिक अभिव्यक्ति दिएकाले योपटक महासमितिमा छलफल हुनसक्ने सम्भावना भने छ । ११ मंसिरमा नेपाली कांग्रेस पूर्वी नवलपरासीको पहिलो जिल्ला सम्मेलनमा पुगेका देउवाले भनेका थिए, ‘धर्मनिरपेक्षताका विषयमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्रको विकल्प छैन ।’
नेपाली कांग्रेसले नीति महाधिवेशन रूपमा महासमिति बैठक ७ देखि १० फागुनसम्म गर्दै छ । महासमिति बैठकका लागि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नीतिगत महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन पेस गर्नेछन् । महासमिति बैठकको एजेन्डाका लागि कांग्रेसले केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय समिति बैठकले पास गरेका एजेन्डा महासमितिमा पेस हुनेछन् ।
नेताहरूका अनुसार कांग्रेसले आधिकारिक रूपमा हिन्दु राष्ट्रको एजेन्डा बोक्ने छैन । महासमितिमा हरेक विषयमा आफ्नो दृष्टिकोण राख्ने अधिकार सबै महासमिति सदस्यहरूलाई हुने नेताहरू बताउँछन् । अहिले पार्टीभित्र गणतन्त्रको विपक्षमा मत नरहेको र धर्मका बारेमा पार्टीमा छलफल नभए पनि महासमिति बैठकमा इच्छुकले कुरा राख्न सक्ने प्रवक्ता डा प्रकाशशरण महत बताउँछन् । ‘संविधानले गरेको व्यवस्था गरेको शासन पद्धतिको खिलाफमा कुनै मत छ भन्ने लाग्दैन । धर्म संस्कृतिका विषयमा पनि यस्तो भइदिए हुन्थ्यो भन्ने दृष्टिकोण आउनु अस्वाभाविक होइन । यी मत राख्ने साथीहरूले बैठकमा बोल्नुहोला । त्यसपछि कसरी जाने भन्ने होला । अहिले यो विषयमा पार्टीमा छलफल भएको छैन,’ प्रवक्ता महतले भने ।
पार्टीको केन्द्रीय समिति बैठकमा सदस्यहरूले यसबारे कुरा उठाउँदै आएका छन् । अहिले केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रको अगुवाइ गरिरहेका छन् । त्यसमा केन्द्रीय सदस्य भीम पराजुलीलगायतका नेताहरूले साथ दिएका छन् । पूर्वमहामन्त्री शशाङ्क कोइराला हिन्दु धर्मको वकालत गर्ने भए पनि पछिल्लो समय मौन छन् ।
‘देशको समग्र परिवेशलाई मध्यनजर राख्दै र विश्व राजनीतिक परिवेशलाई हेक्का राख्दै नेपालको वैदिक सनातन धर्ममाथि संकट उत्पन्न हुन थालेको छ । यसविरुद्ध हुन थालेको षड्यन्त्रले पहिचानको विषय ओझेलमा परेको छ । धर्मको विषयलाई मूल एजेन्डा बनाएर महासमिति बैठकबाट निष्कर्ष बनाउनुपर्छ,’ भण्डारीले शिलापत्रसँग भने । पार्टीले मुख्य एजेन्डाको रूपमा हिन्दु धर्मको एजेन्डा अङ्गीकार नभए कसरी अघि बढ्छ त हिन्दु धर्मको एजेन्डा ? ‘पार्टीले एजेन्डाको रूपमा लगेन भने महासमिति बैठकको फ्लोरबाट उठ्छ र निर्णायक रूपमा पेस हुन्छ,’ भण्डारीले भने ।
२०६२–६३ को दोस्रो जनआन्दोलनपछि बसेको पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकको घोषणाबाट नेपाल धर्मनिरपेक्ष राज्य भएको हो । त्यसपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकबाट पारित पाँचबुँदे प्रस्तावको पहिलो बुँदामा पनि नेपाल धर्मनिरपेक्ष मुलुकमा विधिवत् परिणत भएको घोषणा गरिएको थियो ।
२०७१ माघ ९ मा नेता खुमबहादुर खड्काले वक्तव्य निकालेर पार्टीले धर्मनिरपेक्षता स्वीकार गर्ने ‘अवाञ्छित निर्णय’ लिएको आरोप लागाएका थिए । उनले हिन्दु राष्ट्रका लागि अभियान छेड्न कार्यकर्तालाई आह्वान गरेका थिए । वैदिक सनातन हिन्दु राष्ट्र नेपालको अन्तर्राष्ट्रिय पहिचानको मूल आधार रहेको, सर्वस्वीकार्य रहेको र २०६२–६३ को जनआन्दोलनको एजेन्डा नभएको तर्क खड्का समूहको थियो । यो लाइनमा सो समयमा नेताहरू भण्डारी, देवेन्द्रराज कँडेल, मोहन बस्नेत, रामहरि खतिवडालगायतले उठाउँदै आएका थिए । उनीहरूबाहेक अर्जुन नरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारीलगायत नेताहरू पनि हिन्दु राष्ट्रप्रति नरम देखिएका थिए । तर, अहिले उनीहरू हिन्दु राष्ट्रको विषयमा उति साह्रो चर्को सुनिँदैनन् । शिला पत्र