नोटबन्दीपछि नक्कली नोटमा भारतलाई तनावमुक्त , नेपाललाई पिरलो, कहाँबाट आइरहेको छ नोट ?
काठमाडौं। नोटबन्दीअघि नेपाल ट्रान्जिट हुँदै भारत पुग्ने नक्कली नोट भारतलाई टाउको दुखाइको विषय थियो। पाकिस्तानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने नक्कली नोट नियन्त्रणका लागि भारतले ठूलै संयन्त्र प्रयोग गर्थ्यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षअघि नोटबन्दी गरेपछि नक्कली नोटको तस्करी ठप्पजस्तै भयो। तर अहिले नक्कली नोटको तस्करीले नेपाललाई पिरोलेको छ। एकपछि अर्को गर्दै ठूलो संख्यामा नेपाली नोट नै नक्कली बरामद हुन थालेको छ। सीमावर्ती तराईका जिल्लामा नक्कली नोटको बिगबिगी छ। भारतले भोगेको समस्या बिस्तारै नेपालमा सरेको छ।
एक दशक अघिसम्म नक्कली नेपाली नोटको कारोबार कम देखिन्थ्यो। नक्कली भारुको भने बजारमा बिगबिगी थियो।नेपाललाई ट्रान्जिट बनाएर हुने नक्कली भारु रोक्न भारतले विभिन्न तरिका अपनाएको छ।
भारतीय सुरक्षाकर्मीले नेपालमै छिरेर नक्कली भारुका कतिपय तस्करलाई धरपकडदेखि कारबाहीसम्म गरेका घटना छन्।नक्कली भारुमा जोडिएका नेपाली भूमिमा मारिएका छन्। २०६६ मंसिरमा जमिम शाहको गोली हानी हत्या गरिएको थियो। त्यसयता नक्कली भारुमा जोडिएका अरू पनि मारिए।
२०७९ असोजमा काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएका सर्लाहीका ५८ वर्षीय लाल महम्मद (दर्जी) पनि नक्कली भारुमा जोडिएका व्यक्ति हुन्। उनको हत्याको कारण अझै पनि प्रहरीले खुलाउन सकेको छैन। त्यस्तै मुख्य अभियुक्त अझै फरार छन्। सुरक्षा निकायभित्र लाल मोहम्मद हत्याको घटनालाई भारतसँग जोडेर हेर्ने गरिन्छ।
नक्कली भारुमा कतिपय समातिए, जसको सूचनाको स्रोत भारत हो। नक्कली भारुसहित युनिस अन्सारी पटक-पटक पक्राउ परे। उनी अहिले कारागारमा छन्।
भारतले कडाइ गरेपछि अहिले नेपालमा नक्कली भारुको ठूलो कारोबार देखिंदैन। चालु आर्थिक वर्ष ६ महिनामा १६ हजार रुपैयाँ बराबरको नक्कली भारु प्रहरीले बरामद गरेको छ। आव २०७९/८० मा ११ हजार ४ सय र २०७८/७९ मा ३ लाख ७८ हजार ९३० रुपैयाँ बराबरको नक्कली भारु भेटिएको थियो।
तर नेपालले भने नक्कली नोट रोक्न खासै चासो देखाएको छैन। गत आइतबार बिहान प्रहरीले सुनसरीको इनरुवाबाट ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद गर्यो। पूर्वपश्चिम राजमार्गको इनरुवा-४ मा पर्ने सुनसरी खोला नजिकैबाट बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कार्पियो गाडीभित्र नोट भेटिएको हो।
गाडीमा सेतो प्लास्टिकको बोराभित्र स्पोर्ट लेखिएको ताला लगाएको झोलामा भेटिएको १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरका नक्कली नोट हजार दरका हुन्। नोटको बन्डलमा एनआइसी एसिया बैंकको ट्याग समेत लगाइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा नोट भारतबाट भित्रिएको देखिएको छ। ‘भारतीय गाडी र चालक प्रयोग भएकाले पनि भारतबाट ल्याएको देखिन्छ। तर, थप अनुसन्धान भइरहेको छ,’ सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले भने।
चालक भारत बिहारको सुपौल जिल्ला वीरपुर-५ का २२ वर्षीय छोटु भनिने मोहम्मद सैयद साफीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सुनसरीमा आइतबार बरामद नक्कली नोट
पछिल्लो समय प्रहरीले सानो परिमाणमा दैनिक जसो नक्कली नोट फेला पारिरहेको छ। प्रहरीले फेला नपारेको त हिसाबकिताब नै छैन। तस्करले भित्र्याएका नक्कली नोट ठूलो परिमाणमा आम मानिसको हात-हातमा पुगेको आशंका गर्न थालिएको छ।
केही दिनअघि बाराको जितपुर सिमरा-७, जीतपुर बजारबाट प्रहरीले ६१ हजार रुपैयाँ बराबरको नक्कली नोट फेला पार्यो। एक हजार दरका ६१ थान नक्कली नोटसहित सर्लाही चन्द्रनगर-३ का ४४ वर्षीय रामचन्द्र महतो माघ २३ गते बेलुकी पक्राउ परे।
सोही ठाउँस्थित प्रभु साह कलवारको किराना पसलबाट नक्कली नोट दिएर सामान किनेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले महतोलाई पक्राउ गरेको हो।
पछिल्लो महिनाको रेकर्ड हेर्दा तराईका जिल्लामा दिन बिराएर सानो परिमाणमा नक्कली नोट देखिएका छन्।
झट्ट हेर्दा उस्तै लागे पनि कागज, रंग र सुरक्षण धागो आदिका आधारमा सक्कली नक्कली छुट्टिन्छ। तर, दुरुस्तै देखिने छपाइ भएका नोट सर्वसाधारणले सहजै नक्कली भएको भन्ने थाहा पाउन सक्दैनन्।
सीमावर्ती क्षेत्रमा औषधिदेखि अण्डा बेच्ने पसल र भट्टीसम्म नक्कली नोट भेटिरहेका छन्। यसरी भेटिएका प्रायः नोट भारतबाट नेपाल ल्याइएको हो। ‘भारतमा छपाइ राम्रो भएकाले त्यहाँबाट ल्याउने गरेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।
केही समय अगाडि देशभित्र नै रंगिन फोटोकपी मेसिनमा प्रिन्ट गरेर नक्कली नोट बनाएको पाइएको थियो।
प्रहरीले बरामद र पक्राउ गरेको तथ्यांक हेर्दा पनि पछिल्लो समय देशभित्र नक्कली नोटको तस्करी बढेको देखिन्छ। चालु आर्थिक वर्षको ६ महिनामा मात्र अघिल्ला आर्थिक वर्षभन्दा दोब्बर नक्कली नोट प्रहरीले बरामद गरिसकेको देखिन्छ।
चालु आर्थिक वर्षको पुससम्म देशभरबाट १ करोड १ लाख ६३ हजार ५ सय रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको नेपाल प्रहरीका डिआइजी भीमप्रसाद ढकालले जानकारी दिए। जसमा सबैभन्दा धेरै एक हजार दरका नोट छन्।
आर्थिक वर्ष २०७९/८० मा ४२ लाख ६१ हजार ३ सय, आर्थिक वर्ष २०७८/७९ मा ३७ लाख ८१ हजार ६३० र यसभन्दा अघि २०७७/७८ मा ४० लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको तथ्यांक छ।
बरामद नक्कली नोट । फाइल तस्विर 
भारतमा नक्कली नोट तस्करमाथि राज्य नै निर्मम तरिकाले लागेपछि कारोबारी नक्कली नेपाली नोटतिर लागेको प्रहरीका पूर्व अधिकृतहरूको बुझाइ छ। ‘आंशिक रूपमा केही तस्कर सिफ्ट भए होला। तर, कमजोर आर्थिक अवस्था र तस्करलाई राजनीतिक संरक्षण गर्ने प्रवृत्तिले हामीकहाँ मौलायो,’ पूर्वएआइजी विज्ञानराज शर्माले भने।
नक्कली नोटको कारोबार बढ्दा देशको अर्थतन्त्रमै नकारात्मक असर पर्छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नक्कली नोट निरुत्साहितका लागि जनचेतना जगाउनेलगायत काम गरिरहेको बताए। ‘प्रहरीले पनि काम गरिरहेको छ। हाम्रो तर्फबाट यसलाई निरुत्साहित गर्न विभिन्न कामहरू भइरहेको छ,’ भट्टले भने। यो समाचार बिजमानडु बाट साभार गरिएको छ ।


