१२ मंसिर २०८३, शुक्रबार

कांग्रेस महासमिति बैठकमा प्रवेश गर्‍यो हिन्दु राष्ट्रको एजेण्डा

एसीपी संवाददाता

१० फाल्गुन २०८०, बिहीबार ११:०८ मा प्रकाशित

काठमाडौं ।नेपाली कांग्रेस महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको एजेण्डा प्रवेश गरेको छ । चार दिनदेखि गोदावरीमा जारी महासमिति बैठकमा प्रतिनिधिहरुले हिन्दु राष्ट्रको मुद्दा उठाएका हुन् ।

कांग्रेस जुम्ला जिल्लाका सभापति कर्णबहादुर शाही हिन्दु राष्ट्रका बारेमा निर्णय लिनुपर्ने बताए । ‘हिन्दु राष्ट्रको मुद्दा उठाउने हो कि अब नउठाउने हो भन्ने निर्णय गरोस् । कुनै न कुनै बेलामा हिन्दु राष्ट्रको एजेन्डा उठाउनुपर्छ,’ उनले बन्दसत्रमा भने ।

महासमिति बैठकको मूल गेटअगाडि हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर अभियान चलिरहेको छ । एक हजार २ सय महासमिति सदस्यले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर गर्नेमा कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा शशांक कोइराला, पूर्वसभामुख तारानाथ रानाभाटलगायत छन्।

नेपाली कांग्रेस सनातन  हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीका अनुसार हिन्दु राष्ट्र नेपाल स्थापना सम्बन्धि पूरक प्रस्ताव महासमिति बैठक पेश गरिनेछ। सभापति शेरबहादुर देउवासँग छलफल भइसकेको र बिहीबारको बैठकमा पेश गरिने उनले जनाए ।
यो अभियानमा साथ दिन सबै महासमिति तथा पार्टीका नेता तथा शुभेच्छुकहरूसँग उनले अपिल पनि गरेका छन् ।

कांग्रेसका २२ केन्द्रीय नेताले यसअघि केन्द्रीय समिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका थिए। कांग्रेसजस्तो व्यापक जनआधारमूलक प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरेको उनीहरुको धारणा छ।

अहिले हिन्दु राष्ट्रको पक्षमा खुलेर लागेका कांग्रेस नेताहरुमा शंकर भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमती शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौला छन्।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा पनि धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मका पक्षमा छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x