घाटामा रहेका कम्पनी धितोपत्र बोर्डलाई मिलाएर नाफा देखाई आइपिओ ल्याउछन्, मिलेमतोमा रेटिङ बढाइन्छ : प्रमुख सचेतक यादव
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले घाटामा रहेका उद्योग र कम्पनी धितोपत्र बोर्डलाई मिलाएर नाफा देखाई आइपिओ ल्याउने गरेको खुलासा गरेका छन्। र, मिलेमतोमा रेटिङ बढाइ सर्वसाधारण लगानीकर्तालाई फसाउने गरिएको उनले बताए।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका सांसद यादवले नेपाली सेयर बजारमा भइरहेको यो गम्भीर अपराधमा नियामक निकाय धितोपत्र बोर्ड नै मुख्य मतियार बनेर लगानीकर्तामाथि ज्यादती गरिरहेको र सीमित व्यापारी एवं माफियालाई पोस्न उद्यत रहेको बताए । ३२ खर्ब लागनी रहेको नेपाली सेयर बजार अत्यन्तै गम्भीर र संकटपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद यादवले घाटामा रहेका कम्पनीले अडिटर मार्फत् मुनाफा देखाइ धितोपत्र बोर्डमा निवेदन दिने गरेको र धितोपत्र बोर्डले चेकजाँच नगरी जस्तोसुकै कम्पनीलाई आइपिओ निस्काशनको स्वीकृति दिने गरेको बताए ।
‘उदाहारणका रुपमा घोराही सिमेन्ट, सोनापुर मिलरल्स एण्ड आयल कम्पनी, नेपाल वेयर हाउस कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी आइपिओ निस्कासन अघि ग्रिन जोनमा थिए । तर, आइपिओ निस्कानपछि रेडजोनमा गए,’ उनले भने, ‘किनकी आइपिओ निस्कासन अघि लगानीकर्तालाई आकर्षित गर्न वित्तीय विवरण नै म्यानुप्लेट गरिएको हुन्छ । यी कम्पनीेले रिजर्भमा रहेको सबै रकम नाफामा देखाउछन् ।’ यसरी घाटामा रहे पनि नाफा देखाएर प्रिमियममा समेत आइपिओ जारी गरेका धेरैजसो कम्पनीको भ्याट मुद्दा रहेको र अदालतमा विद्युत वक्यौताको मुद्दा चलिरहेको उनले बताए ।
आइपिओको जोखिम के कस्तो छ भनेर केयर रेटिङ नेपाल र इक्रा नेपाल नामक एजेन्सीले मूल्यांकन गर्छन्। यी दुई कम्पनीले लगानी गर्न योग्य कम्पनीको रेटिङ गरेको हुन्छ । ‘इक्रा र केयरले कानुनसम्वत रेटिङ गरेको छ छैन भनेर धितोपत्र बोर्डले किन नियमन गर्दैन?,’ यादवको प्रश्न छ, ‘मैले पाएको सुचना अनुसार यी एजेन्सीहरु गैरकानुनी रुपमा रेटिङ बढाउछन् । र, धितोपत्र बोर्ड दूधको रखवाल विरालोजस्तो भएर बसेर हेरिरहन्छ ।’ कुनै पनि कम्पनीको वास्तविक अवस्था थाहा पाउन, जोखिम के कति छ भनेर थाहा पाएर मात्र लगानी गरुन भनेर रेटिङ गरिन्छ ।
रेटिङ एजेन्सीले पूर्वाग्राही भएर रेटिङ गर्दा मिहिनेत गरेर कमाएको पैसा लगानी डुब्ने जोखिम रहने उल्लेख गर्दै उनले रेटिङ कम्पनीले सम्पर्कमा रहेर मार्केट बढाउन केही प्लेयर रहेको बताए । ‘यी प्लेयरहरु रेटिङ कम्पनीसँग मिलेर सेयर बजारमा लगानी गर्छन्। जब सेयर बजार केही माथि जान्छ, अनि साधारण लगानीकर्तालाई के लाग्छ भने यो सेयरमा लगानी गर्नुपर्छ। धेरै माथि गइरहेको छ । गरिब, निमुखाले पनि धमाधम लगानीगर्छन् । अनि ती प्लेयर, ती विचौलियाहरु आफ्नो पैसा झिक्छन् र बजार एकैपटक तल झर्छ । आम लगानीकर्ता डुब्छन्,’ यादवले बताए। नेपालपाना


