अख्तियारले ७० करोड टेप काण्डको अनुसन्धान थालेपछि तनावमा परे गोकुल बास्कोटा
काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड टेप काण्डको अनुसन्धान थालेपछि एमाले नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा तनावमा परेका छन्।
तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा मन्त्री रहेका बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको टेप सार्वजनिक भएको थियो ।
लगत्तै उनले राजीनामा दिएपनि अख्तियार लगायत निकायले यसबारे खासै चासो दिएका थिएनन्। तर, घटनाको चार वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेप काण्डको अनुसन्धान भइरहेको बताए ।
‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्याएर (मुद्दा) लैजान हुँदैन।’
सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा राईले यसो भनिरहँदा बास्कोटा पनि समितिमै थिए । उनी काभ्रेबाट निर्वाचित सांसद हुन्। राईले टेप काण्ड उच्चारण गरेपछि केही पर बसेका बास्कोटाले उनलाई एक टकले हेरिरहे । लेखा समितिका कयौँ सदस्यले आफ्नो टाउको बास्कोटातर्फ मोडेका थिए।
राईले टेप काण्ड छानबिन भइरहेको बताएपछि उनी तनावमा रहेको एक एमाले नेताले बताए। ‘उहाँले यो प्रकरण अब सकिसक्यो सोच्नुभएको थियो, ती नेता भन्छन्, ‘अख्तियार प्रमुखले नै अनुसन्धान भइरहेको बताएपछि उहाँले तनाव लिनुभएको छ।’ टेप काण्ड सार्वजनिक भएपछि दोषी ठहर भएका नजिर छन्।
अख्तियारले पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध भने ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा २०७५ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले पनि पाठकविरूद्धको मुद्दामा विशेष अदालतले ‘घुस खान खोजेको’ आरोपमा दोषी ठहर गरेको थियो। पाठकले घुस खान खोजेको र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले घुस दिन खोजेको भन्दै विशेष अदालतले ३र३ वर्ष कैद सजायको फैसला गरेको थियो।
बास्कोटाले पनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रसँग घुस मागेका थिए। घटना सार्वजनिक भएपछि लेखा समितिले ०७६ मै अख्तियारलाई छानबिन गर्न भनेको थियो।


