सरकार ठूलो अग्नीपरीक्षामा छ: उद्योग मन्त्री भण्डारी
नेपालगन्ज । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । डल्फिन ग्रुपको १४औं वार्षिकोत्सब समारोहलाई आज नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले मुलुकमा चुनौतीका चाङ थुप्रै भएकाले सरकार ठूलो अग्नीपरीक्षामा रहेको बताए । उनले जनतामा छाएको निराशा र आक्रोशलाई प्रखर ढंगले सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे । अहिले अग्रगमन पक्षधरबीच संसदमा सहकार्य भएको चर्चा गर्दै उनले राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभाराका साथ सरकार अगाडि बढ्ने बताए ।
आयातमुखी अर्थतन्त्रलाई सन्तुलनमा ल्याउनुपर्ने टड्कारो आवश्यकता रहेको भन्दै मन्त्री भण्डारीले चुलिँदो व्यापार घाटा कम गर्ने कार्ययोजनाका साथ सरकार अगाडि बढ्ने बताए । उनले नेपालको अर्थतन्त्र बलियो बनाउन उद्योगी व्यवसायीलाई सक्षम बनाउन लगानीमैत्री वातावरण बनाउन सरकार लागिपर्ने बताए । कानुन निर्माण र संशोधन गरेर भएपनि लगानीमैत्री वातावरण बनाउन सरकार उच्च इच्छाशक्तिका साथ लाग्ने मन्त्री भण्डारीको भनाई छ । निजी क्षेत्र उत्साहित भएन भने समृद्धिको दिशामा अगाडि बढ्न नसकिने बताउँदै उनले सरकार निजी क्षेत्रसंगै सहकार्य गरेर जाने स्पष्ट पार्नुभयो । मन्त्री भण्डारीले आफ्नो कार्यकाललाई स्मरणीय बनाउन दत्तचित्त भएर लाग्ने बताए ।
कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी खुला सीमानाले नेपाली सीमावर्ती बजार समस्यामा रहेको बताए । वार्षिकोत्सब समारोह डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । डल्फिन ग्रुपले खाद्यान्न र पशुपंक्षीको दाना उत्पादन गर्दै आएको छ ।


