कांग्रेसको नेतृत्वमा थालिएको आर्थिक उदारीकरणले मुलुकमा निजी क्षेत्रको संस्थागत विकास भएको हो : सांसद विनोद चौधरी
काठमाडौं। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले ०४८ को आर्थिक उदारीकरणमार्फत् सुरु गरिएको सुधारले मुलुकमा निजी क्षेत्रको संस्थागत विकास हुन सकेको बताएका छन् ।
‘सोही नीतिको प्रतिफलस्वरुप मुलुकमा दूरसञ्चार, बैंक तथा वित्तीय क्षेत्र, हस्पिटालिटी, यातायात, हवाइ उड्डयन,सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको छ । यस नीतिले कुल गार्हस्थ उत्पादनको झन्डै ३५ प्रतिशत हिस्सा ओगट्ने यी क्षेत्र विकास भएका हुन्,’ सोमबार संसदमा प्रिबजेट छलफलमा बोल्दै सांसद चौधरीले भने ।
०४८ मा कांग्रेस नेतृत्वको सरकारले मुलुकमा आर्थिक सुधार गरी खुला बजार अर्थतन्त्र नीति अबलम्बन गरेको थियो । त्यतिखेर आर्थिक वृद्धिदर ७ प्रतिशत पुगेको थियो । ‘निर्यात दोब्बर बनेको थियो। ‘देशमा डाबर, लिभर, कोलगेजस्ता बहुराष्ट्रिय कम्पनी आएका थिए। देशभित्र कार्पेट, गार्मेन्ट उद्योगहरुको विस्तार भएको थियो,’ उनले भने,‘त्यो उत्साह नेपाली अर्थतन्त्रले फेरि महसुस गर्न पाएको छैन ।’
नेपालका एकमात्र डलर अर्बपति रहेका चौधरीले तीन दशक अघिको आर्थिक सुधारका भरमा अर्थतन्त्र चलिरहेको भन्दै असन्तुष्टि जनाए । ‘दोस्रो चरणको सुधारलाई अगाडि बढाउनपर्थाे। नयाँ क्षेत्रहरु पहिचान गर्दै विकास गर्न सक्नुपर्दथ्यो । दोस्रो चरणको सुधारमार्फत् हामी डिजिटल प्रविधि, बायोटेक, फार्माजस्ता टेकबेस्ड इन्डष्ट्रीमा जानुपर्दथ्यो,’ उनले भने, ‘त्यसो गर्न सकेको भए हामी माइक्रोसफ्टदेखि अमेजोनसम्मको आधुनिक विकाससँग जोडिन सक्थ्यौँ । सोही अवधिमा सिंगापुर, हैदरावाद र सिलिकन भ्यालीले गरेको जस्तै नयाँ ढंगले विकास पनि गर्न सक्थ्यौँ होला । तर, सोही सुधारको ब्याज खाएर मात्रै बस्ने काम भएको छ ।’
यो अवधिमा विश्व अर्थतन्त्रको दिशा नै युर्टन भएको उल्लेख गर्दै सांसद चौधरीले डिजिटल वर्ल्डका कारण आर्टिफिसियल इन्टेलिजेन्सका साथसाथै नवप्रवर्तनका अथार्थ हामीमाझ रहेको र नेपाल यसको अभिन्न अंग बन्न सक्ने सम्भावना रहेको बताए । ‘त्यसैदले हामीले दोस्रो चरणको आर्थिक सुधार अन्तर्गत नयाँ पोलिसी डिपाचएरमा जान ढिला भइसकेको छ,’ उनले भने ।


