सैनिक कल्याणकारी कोषमा साढे ८२ अर्ब पुग्यो, ३३ हजार ४३ लाई सुलभ कर्जा
काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ रहेको छ ।
प्रधानसेनापति प्रमुराम शर्माले सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा १० लाख हिताधिकारीमार्फत कोषमा साढे ८२ अर्ब जम्मा भएको जानकारी दिएका हुन्। गत असारसम्म यो रकम ७१ अर्ब पाँच करोड ६१ लाख थियो।
अवकाशप्राप्त सकल दर्जालाई एकै ठाउँमा भेटघाटका साथै बहालवाला र अवकाशप्राप्त सैनिकबीच सामीप्यताको भावना जागृत गराउन सेनाले विविध कल्याणकारी कार्यक्रम गर्दै आएको उनले जनाए।
कोषका प्रमुख कार्यकारी अधिकृत अवकाशप्राप्त रथी गौरव तण्डुलका अनुसार कोषमार्फत हिताधिकारी लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन भइरहेको र उक्त रकमलाई आयमूलक क्षेत्रमा लगानी गरी शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतलाई विस्तार गर्दै आएको छ ।
३३ हजार ४३ जनाले सात अर्ब ४५ करोड ७७ लाख ७५ हजार सुलभ व्याज दरमा कर्जा सुविधा प्राप्त गरेका छन्। जसमध्ये महिला उद्यमशीलता कर्जातर्फ तीन हजार एक सय १२ जनाले दुई अर्ब ४६ करोड ६४ लाख ३० हजार कर्जा सुविधा लिइरहेका छन्।


