ट्राफिक प्रहरीद्वारा चालकको स्वास्थ्य परीक्षण
चालकको स्वास्थ्य समस्या र गाडीमा खराबीले हुने दुर्घटना न्युनिकरण उद्देश्यले जिल्ला ट्राफिक कार्यालयले बिहीबार यहाँ एकदिने चालकको स्वास्थ्य जाँच गर्नुका साथै गाडीको इन्जिनको अवस्था परीक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको आयोजनामा जिल्लाको तिलोत्तमा नगरपालिकास्थित क्रिमशन अस्पताल परिसरमा सञ्चालन भएको शिबिरमा गाडी चालक, सहचालकको स्वास्थ्य परीक्षण गरिएको थियो ।
बुटवल– भैरहवा खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई रोकेर चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यही बेला उनीहरुले चलाउने गाडीको इन्जिनमा समस्या भएनभएको परीक्षण गरिएको थियो । जिल्ला ट्राफिकले स्थानीय क्रिमशन अस्पतालसित सहकार्यमा स्वास्थ्य परीक्षण शिबिर सञ्चालन गरिएको जनाएको छ ।
चालकको स्वास्थ्य परीक्षणका लागि क्रिमशन अस्पतालबाट हुमप्रसाद न्यौपानेको नेतृत्वमा चिकित्सकसहितको टोली खटिएको थियो । आँखा परीक्षणका लागि चिकित्सक अमृत केसीको नेतृत्वमा टोली खटिएको थियो भने गाडीको इन्जिनमा समस्या भएनभएको परीक्षणका लागि यातायात कार्यालयबाट इन्जिनियर नवीन घिमिरे आएका थिए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख बजिरसिंह बिष्टले अधिकांश दुर्घटना चालकको स्वास्थ्यमा समस्या देखिएका कारण हुने गरेको पाइएकोले स्वास्थ्यप्रति सचेतना फैलाउन शिविर आयोजना गरिएको बताए । ‘चालकको स्वास्थ्य र गाडीको इन्जिन दुरुस्त भएन भने दुर्घटना हुन्छन्,’ उनले भने, ‘त्यसैले चालकलाई स्वास्थ्यप्रति सजग तुल्याउन परीक्षण शिबिर आयोजना गरेका हौं ।’
शिबिरमा जिल्लामा रहेको पश्चिम नेपाल बस व्यवसायी प्राली, ट्रयांक, ट्यांकरसित सरोकार राख्ने संस्थामा प्रतिनिधि सहभागी भएका थिए । यातायातसित सरोकार राख्ने संस्थाले आफ्ना चालकको नियमित स्वास्थ्य परीक्षण गरुन् भनेर सन्देश फैलाउन यस्तो कार्यक्रम आयोजना गरिएको प्रहरी निरीक्षक विष्टले बताए ।


