४२ वर्ष पहिलाको कुरा उठाएर म माथि राजनितीक स्टन्ट गरियोः गल्ती गरेको छैन, डराउॅदिन् – विनोद चौधरी
काठमाडौं। नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले आफूमाथिको अनुसन्धानबारे सभामुखलाई जानकारी दिएको पत्र सार्वजनिक गरेर राजनीतिक स्टन्ट गरिएको बताएका छन्।
बहालवाला सांसदलाई पक्राउ वा मुद्दा चलाउनबाहेक अनुसन्धान भइरहेको बारे सदनलाई जानकारी दिन नपर्ने भएपनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा अनुसन्धान भइरहेको जनाएको थियो।
शुक्रबार बिहान सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान दिएर फर्केपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै चौधरीले भने, ‘म माथि अनुसन्धानबारे जानकारी गराएको पत्र जुन रुपले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा रंगिए। त्यसले स्ट्रन्ड के उद्देश्यले गरिएको भन्ने प्रष्ट भएको स्थिति छ । यो विषयमा कुरा उठ्ने वित्तिककै, मेरो भाइमाथि अनुसन्धान हुन वितिक्कै मैले आफ्ना कुरा संक्षिप्त रुपमा राखेको थिए।’
आफूमाथि अनुसन्धानको कुरा चल्न वितिक्कै सदनको रोस्टममा उभएिर आफ्ना कुरा राखेको उल्लेख गर्दै चौधरीले बयानका लागि मौखिक रुपमा जानकारी गराएपछि जिम्मेवार राजनीतिकर्मीका रुपमा उपस्थित भएको बताए।
‘उहाँहरुको अनुसन्धानलाई म एउटा जिम्मेवार व्यक्ति, राजनीतिकर्मीको हिसावबाट यहाँ सहयोग गर्न उपस्थित भए। ४२ वर्ष अगाडि बाँसबारीको जग्गाको भाउ कौडीको पनि थिएन। त्यसलाई आधार बनाएर, त्यो बेलामा पब्लिक प्राइभेट पार्टनसिपको एउटा उत्कृष्ट मोडलका रुपमा खडा गरिएको एउटा नवीनतम सोचलाई जुन किसिमले राजनीतिकरण गरियो, त्यो अत्यन्त दुख लाग्दो छ,’ उनले भने, ‘४२ वर्ष अगाडिको बाँसबारी छालाजुत्ता कारखानाको जग्गाको मूल्य कति नै पर्दथ्यो होला भन्ने कुरा सबैले बुझेका छन्।’
चौधरीले स्टन्ट गर्नेहरूलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने बताए। उनले भने, ‘मैले मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन। उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो।’


