हत्या अभियोग लागेका अग्नि सापकोटाविरुद्धको मुद्दा १२ वर्षदेखि विचाराधीन, कहिले खुल्छ फाइल?
काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ। सापकोटाविरुद्ध २० वर्षअघि काभ्रेका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरीको आरोपमा मुद्दा चलिरहेको छ। उनीविरुद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन १२ देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ।
अर्जुन लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा आफ्ना पतिलाई २०६२ वैशाख १६ मा माओवादीले अपहरण गरी हत्या गरेको र त्यसमा माओवादी नेता सापकोटा, सूर्यमान दोङसहित ६ जना संलग्न रहेको भनी किटानी जाहेरी दिएकी थिइन्। अनेक बाधा अड्चन र धम्कीकै बीच सर्वोच्चसम्म निवेदन दिइएपछि पूर्णिमायाको रिट दर्ता भई १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ।
सापकोटाविरुद्ध मानवअधिकार उल्लंघनमा प्रहरीले जारी गरेको पक्राउ पुर्जी शक्तिको आडमा २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले ‘तामेली’ को नाममा निरस्त्र गर्यो। तर भट्टराई सरकारको निर्णयविरुद्ध पूर्णिमायाले सर्वोच्चमा दिएको रिटमा अदालतबाट मिसिल झिकाउने आदेश गरेपछि अहिले मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा छ।
तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेकपा माओवादीसँग विवाद सुरु भएपछि मुद्दाको पेशी तोकिएको भए पनि कुनै सुनुवाई हुन सकेको थिएन। पछिल्लो समय भने उक्त मु्द्दाको विषयमा कुनै सुनुवाई भएको छैन।
नागरिक समूहले भने बेलाबेला सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको सुनुवाई गर्न दबाब दिने गरेको भए पनि हाल पनि नागरिक समूह पनि मौन देखिएको छ। नागरिक समूहले नेपाल प्रहरीलाई सापकोटालाई पक्राउ गरी अनुसन्धान अघि बढाउनसमेत दबाब दिइरहेको छ।
तर, गृहमन्त्री लामिछानेसँग सापकोटालाई पक्राउ गर्नसक्ने आँट देखिँदैन। सापकोटा पक्राउ भएको अवस्थामा उनको पद नै जाने स्थिति र सहकारी ठगी मुद्दामा लामिछानेमाथि नै अनुसन्धान सोझिने भयका कारण सापकोटाको मुद्दा नसुनेझैं गरेर लामिछाने बसिरहेका छन्। अर्कोतर्फ पीडित भने १२ वर्षदेखि न्यायको याचना गरेर रोइरहेका छन्।
गृहमन्त्री लामिछानेले जति सुशासनको कुरा गरे पनि पीडितको आँशुलाई देखेनन् र न्यायको भिख मागेको उनले सुनेका पनि छैनन्। सापकोटाविरुद्धको फाइल कहिले खुल्छ स्वयं लामिछाने पनि बेखबर बनिरहेका छन्। नेपालपाना


