श्रममन्त्री डिपी र रास्वपा सहमहामन्त्री बुर्लाकोटीले चलाएको सहकारीले बचतकर्ताको झण्डै ५ करोड फिर्ता गरेन, सरकारले घोषणा गर्यो समस्याग्रस्त
काठमाडौं। रास्वपा सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको पाइएपछि सडकदेखि संसदसम्म विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले उनको राजीनामा माग्दै आएको छ।
रवि उक्त सहकारीको सदस्य नभए पनि एक करोड खातामा गएको प्रमाण सार्वजनिक भइसकेको छ। रवि मात्र होइन सहकारी प्रकरणमा रास्वपाका अन्य नेताहरू पनि जोडिएका छन्।
रास्वपा उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्याल र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेको सहकारीले पनि बचतकर्ताको ४ करोड ९२ लाख फिर्ता गर्न नसकेको पाइएको छ।
अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडलाई सरकारले ११ माघमा समस्याग्रस्त घोषणा गरेको थियो।
सहकारी मन्त्रालयले १२ माघमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलाई पत्र लेख्दै भनेको थियो, ‘हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, काठमाडौंका ३६ जना सदस्य बचतकर्ताले बचत रकम फिर्ता नगरेको भन्ने व्यहोरा सहित करीव चार करोड बयानब्बे लाख रुपैयाँभन्दा बढी बचत फिर्ताको लागि सहकारी विभागमा निवेदन दिएको, यस सम्वन्धमा त्यस संस्थाका अध्यक्ष सहित ६ जना सदस्यहरुले विभागमा उपस्थित भई बचतकर्ताको वचत रकम फिर्ता गर्ने प्रतिवद्धतासहितको मञ्जुरीनामा कागजातमा सहिछाप गरेको तर प्रतिवद्धता अनुरुप कार्य नगरेको हुँदा विभागबाट पुनः १५ दिने स्पष्टिकरण सोधिएको तर सोको जवाफ प्राप्त नभएको, जवाफी प्राप्त नभए पश्चात विभागवाट स्थलगत अनुगमन÷निरीक्षणमा जाँदा संस्था बन्द रहेको कारणले निरीक्षण तथा हिसाब जाँच गर्न नसकिएको, संस्थाले सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को विपरित कार्य गरेको, संस्थाका सञ्चालक एवं कर्मचारीहरु सहकारी विभागको सम्पर्कमा नरहेको, वार्षिक लेखापरीक्षण लगायतका नियमित रुपमा विभागमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेको, बचतकर्ताको बचत समेत जोखिममा परेकोले आर्थिक रुपले संस्था समस्यामा रहेको ।’
यो सहकारी काठमाडौंको बालुवाटारमा छ । २७ साउन ०७७ को साधारणसभाले सूर्यबहादुर गुरुङको अध्यक्षतामा चार वर्षका लागि नयाँ समिति चयन गरेको थियो। सोही समितिका उपाध्यक्ष हुन् अर्याल। त्यस्तै, सञ्चालक सदस्यमा बुर्लाकोटीसहित रहेका छन् ।
यद्यपि, चार वर्षे कार्यकाल पूरा नहुँदै २२ असोज ०७९ मा नयाँ कार्यसमिति बने पनि किर्ते साधारणसभा गरेर संस्था कब्जा गरेको भन्दै सहकारी विभागमा उजुरी छ। नेपाल पाना


