ठमेलका व्यवसायीलाई गृहमन्त्रीले भने– ढिलाेसम्म पसल खाेलेकाे बहानामा प्रहरीकाे चाकडी गर्नुपर्ने छैन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा रात्रिकालीन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्न लागेको दाबी गरेका छन् । शुक्रबार रात्रिकालीन व्यवसाय सञ्चालन सरोकारवाला निकायहरूसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले सरकारले रात्रिकालीन व्यवसाय स्थानीय र व्यवासायीहरूको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिबद्धता जनाए ।
गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई बेवास्ता गर्नेगरी नजाने बताए । उनले उनीहरूको समस्या समाधान नगरी धेरै मानिसहरूले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पारे ।
स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उनको भनाइ छ । गृहमन्त्री लामिछानेले धेरै मानिसहरू सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरूको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताए । उनले ठमेल र दरबारमार्ग अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने बताए । उनले २४ सै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताए
पूर्ण रूपमा व्यवसायिक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेहरूको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास उनले व्यक्त गरे । उनले शहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौं शहर त्यस्तो मृत शहर नभएको बताए ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीहरूकोमा गएर खाना नखान निर्देशन दिए । उनले पसल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बहानामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसरहरू, कर्मचारीहरूलाई एक छाक पनि खुवाउनु नपर्ने बताए ।
उनले प्रहरीहरूले आफ्नै खाना खाने भन्दै प्रहरीहरूलाई खाना खुवाउने, राख्ने र उपहार दिने काम व्यवासायीहरूले गरे व्यवसायमा ताला लाग्ने चेतावनी दिए । व्यवसायीहरूले कुनै प्रहरी अफिसरको चाकडी गर्नु नपर्ने भन्दै वर्तमान सरकार त्यो फेवरभन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्न लागेको उनले बताए


