भाजपाको चुनावी अभियानमा नेपालका पाँच दललाई निम्तो
भारतमा जारी लोकसभा निर्वाचनका क्रममा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ वटा राजनीतिक पार्टीलाई दिल्लीमा निम्ता दिएको छ ।
भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ (know BJP)अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले विज्ञप्तिमार्फत जनाएका छन् ।
यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने भाजपाले जनाएको छ । उनीहरुलाई बिजेपीको चुनावी अभियान र उसको रणनीतिसहित समग्र चुनावी प्रक्रियाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको चौथाइवालेले जनाएका छन् ।
नेपालबाट कांग्रेसका उदय शमसेर जबरा,एमालेका उपमहासचिव बिष्णु रिमाल,माओवादी केन्द्रका नेता मात्रिका यादव,रास्वपाका शिशिर खनाल र जनमत पार्टीबाट डा.जयकान्त राउत यस कार्यक्रममा सहभागी हुने बताइएको छ ।
कार्यक्रममा भियतनामको सत्तारुढन कम्युनिस्ट पार्टीसहित विभिन्न देशका दलहरुका प्रतिनिधिहरु सामेल छन् । उनीहरुलाई विभिन्न राज्यमा भइरहेका चुनावी अभियानमा समेत अवलोकन गराइने छ ।


