साना दलले च्याँखे दाउ थाप्दा चाँडै सरकार बन्ने र चाँडै भत्कने भयो : कांग्रेस नेता खतिवडा
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अहिले साना पार्टीले च्याँखे दाउ थापेर सरकार ढाल्ने र गठन गर्ने कुरामा मात्र सीमित भएको टिप्पणी गरेका छन्।
कांग्रेस खिजीदेम्बा गाउँपालिका समितिद्वारा बुधबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले साना दल अस्थिरताको गोटी बनेको आरोप लगाएका हुन् ।
उपनिर्वाचनमा पार्टीको मत बढेको भन्दै नआत्तिन उनले कार्यकर्तालाई आह्वान गरेका छन्। खतिवडाले दलहरूबीच गठबन्धन हुँदा परिणाम पक्षमा नआए पनि सैद्धान्तिक रूपमा मत बढ्नुलाई जितकै रूपमा लिनुपर्ने बताए।
इलाम र बझाङमा आफ्नो मतलाई बढाएको, तर गठबन्धनको कारणले मत नपुगेको उनको भनाइ थियो। ‘अहिलेको गठबन्धन सरकार हाम्रै सिद्धान्तलाई मानेर जनताको मतबाट सत्तामा पुग्नुपर्छ भनेर चुनावी प्रक्रियामा आउनु नै कांग्रेसको सैद्धान्तिक जित हो,’ उनले भने, ‘गणतीय मत जुनसुकै वेला पनि परिवर्तन हुन सक्छ।’ त्यसैले इलाम र बझाङको परिणामले आत्तिनुपर्ने अवस्था नभएको उनको भनाइ छ।


