बाँके क्षेत्र नं. १ का सभापति केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा
नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा काँग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीकी आमा शान्ता रेग्मी केसीको निधनको शोकमा आज श्रद्धाञ्जली सभा गरिएको छ । केसीको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ लौकीस्थित निवासमा नेपाल प्रेस युनियन बाँकेले श्रद्धाञ्जली सभा गरेको हो । श्रद्धाञ्जली सभाका बक्ताहरुले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए । सभामा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लमशाल, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी लगायतले समवेदना प्रकट गर्नुभएको थियो । श्रद्धाञ्जलीसभामा स्वर्गीय केसी र परिवारका बारेमा सामाजसेवी भिमार्जुन देवकोटाले जानकारी गराउनुभयो । सभामा युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा, युनियन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जयसिंह केसी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, चलचित्र पत्रकार संघ बाँके अध्यक्ष रामचन्द्र पौडेल, नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्यहरु, युनियन बाँकेका कार्यसमिति सदस्य, साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो । ७७ वर्षीया स्वर्गीय केसीको बैशाख २६ गते मातातीर्थ औंसीको दिन उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगन्ज निधन भएको थियो ।


