पत्रकार महासंघको सार्वजनिक सदस्यता सूचीप्रति प्रेस युनियनको आपत्ति
काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनले आज विज्ञप्ति जारी गर्दै भनेको छ-“अध्यक्ष र महासचिवले महासंघको विधान अनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक गरेको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दछ ।”
महासंघका अध्यक्ष र महासचिवले सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियनले ठहर गर्दै यस कार्यको घोर आपत्ति प्रकट गरेको जनाएको छ ।
साथै महासंघको विधान र महाधिवेशनको म्यान्डेड अनुसार शाखाबाट सिफारिस भएका सदस्यता सूचीलाई महासंघकै संगठन समिति र शुद्धिकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो ।
“विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियन माग गर्दछ,” महासचिव दिलिप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रेस युनियनले आपत्ति जनाउँदै सदस्यता विवाद निरुपण नगरी युनियनको आग्रहलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल पत्रकार महासंघ नै हुनुपर्ने जनाएको छ ।


